Logo
Logo

चुरेमा खानेपानीको हाहाकार



कैलाली । जिल्लाको दुर्गम पहाडी चुरे गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नम्बर ६ को गजार, दर्व, तितरे, गौजेना, जिग्रेनी, मल्लो रन्तोला, सल्लेरी, ढुंग्यानी लगायतका क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो ।

असोज ३१ गतेदेखि ३ दिनसम्म परेको बेमौसमी झरीले खानेपानीका मुहानहरु बगाएसंगै पाइपहरु पनि बगाएकाले खानेपानीको समस्या भएको गौजेनाका स्थानीय हर्क दमाइले बताए । उनले भने, ‘बेमौसमी झरीले खानेपानीका मुहानहरु बगाएसंगै यहाँका स्थानीयहरुले खोला, कुवा, तलाउको दूषित पानी पिउन बाध्य भएका छन् ।’

गाईगोरुले पिउने पानी पिउन बाध्य भएको बताउँदै अर्का स्थानीय ढुंग्यानीका लालबहादुर साउँदले बताए । ‘हरेक वर्ष गर्मीको समयमा खानेपानीको समस्या हुने हाम्रो गाउँका यो त हिउँदमा समेत खानेपानीको समस्या भएको छ,’ उनले भने, ‘ गर्मीको समयमा पानीका मुहानहरु सुकेर समस्या हुन्थ्यो । यो वर्ष त हिउँदमै खानेपानीको समस्या भएको छ ।’

कात्तिकको पहिलो साता परेको अविरल वर्षासंगै आएको बाढीले खानेपानीका मुहानहरु भताभुङ्ग भएपनि खानेपानीको समस्या उत्पन्न भएको उनले बताए ।

तीन सातादेखि खानेपानीको समस्या भएको बताउँदै उनले भने, ‘अहिले हामीहरु खोला, कुवा र तलाउमा जम्मा भएको दूषित पानी पिउन बाध्य भएको छौं ।’

अविरल वर्षासंगै आएको बाढीले खानेपानीका मुहानहरु बगाउँदा दूषित पानी पिइरहेको बताउँदै त्यस्तै अर्का स्थानीय टेकबहादुर साउँदले बताए । उनले भने, ‘खोेला, कुवा र जम्मा भएको तलाउको दूषित पानी नपिऊँ भने र्तिकाले मरिन्छ कि भन्ने डर, पिऊँ भने रोगले मरिन्छ कि भन्ने डर छ । तर पनि बाध्य भएर दूषित पानी पिइरहेका छौं ।’

जम्मा भएको तलाउ, कुवा र खोलाको दूषित पानी पिउँदा रोग फैलिनेको कि भन्ने डर चुरेका वडा नम्बर ६ बासीलाई छ । उनीहरु सरकारप्रति उदासिन हुँदै भन्छन्, ‘कहिलेसम्म हामीहरु शुद्ध पिउने पानीबाट बञ्चित हुने ? कहिले हामी रोग मुक्त हुने ?’

स्थानीयहरुका अनुसार गर्मीको समयमा खानेपानीका मुहानहरु सुक्दै गएपछि धाराहरुमा पानी आउन बन्द हुन्थ्ये । तर अहिले वर्षाले खानेपानीको मुहान र पाइपहरु बगाउँदा समस्या भएको छ । चुरे– ६ का जनताहरुले गर्मीको समयमा मात्र होइन हिउँदको समयमा पनि केहि महिनासम्म शुद्ध खानेपानीबाट बञ्चित हुनु परेको गजारका स्थानीय मनोज साउँदले दुखेसो पोखे ।
उने गर्मीको समयमा सुक्ने पानीका मुहानहरु वर्षातमा फुट्ने भएपनि वर्षासंगै आउने बाढीले मुहान र पाइपहरु बगाउने भएकाले खानेपानीको समस्या खेप्नु परेको बताए ।

उनले भने, ‘स्थानीय सरकारले मुहान तथा खानेपानीका पाइपहरु समयमा मर्मत र जडान नगर्दा दुईदेखि तीन महिनासम्म त खानेपानीको चरम अभाव हुने गरेको छ ।’

गाउँपालिकाको ६ नम्बर वडाका एक सय घरधुरी खानेपानीको समस्या भोक्दै आएपनि सरोकारवाला निकायको ध्यान नजाँदा उनीहरु खोला, तलाउ र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् ।

मुहान र पाइपहरु बगाएपछि सो क्षेत्रका जनता पानी लिन घरदेखि आधा घण्टा टाढाको दुरीमा रहेको खोलाबाट फोहर पानी ल्याउन जानुपर्ने बाध्यता रहेको दुखेसो सुनाउँदै हरिश साउँदले बताए । उनले भने, ‘हामीहरुले वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका छौं । हामीले सरकारसंग खानेपानीको दीर्घकालिन योजना बनाएर प्रदेश सरकारलाई माग गर्दा पनि समस्या समाधान नहुँदा समस्या गर्मीयाम, वर्षात र हिउँदमा पनि गाईगोरुले पिउने खोलाको दुषित पानी पिउन बाध्य भएका छौं ।’

उनले खानेपानीको समस्या भएको स्थानीय सरकारलाई पटक पटक जानकारी गराउँदा पनि कुनै पहल नहुँदा वषौंदेखि दुषित पानी पिउँदै आएको दुःख व्यक्त गरे । उनले भने, ‘दुषित पानी पिउँदा कतै हामीलाई भन्दापनि छोराछोरीहरुलाई रोगले समात्ने होकी भन्ने डर छ ।’

स्वास्थ्य सुरक्षको पहुँच नपुगेको उक्त वडाबासीहरु वषौंदेखि डराइडराइ खोलाको दुषित पानी पिउन बाध्य भएका छन् । त्यस्तै खानेपानीको समस्या भोक्दै आएका नविन साउँदले सरकार छकि छैन भन्ने कुनै महसुस गर्न नपाएको बताए । उनले भने, ‘हामी त नेता र जनप्रतिनिधि चुनावको बेला मात्र देख्छौं, त्यसपछि त उनीहरु कहाँ जान्छ के गर्छन थाहनै हुँदैन ।’

उनले वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका चुरेबासीको समस्य नेताहरुका लागि चुनावी नारा मात्रै हुने र नारा नारामै सिमित रहेको बताए । उनले भने, ‘हामी खोलाको दुषित पानी पिउन बाध्य छौं, तर यस विषयमा सरोकारवाला निकायलाई जानकारी दिँदा पनि बेखबर जस्तै भएको छन् ।’

यता वडा अध्यक्ष प्रेमबहादुर साउँदले बाढीले खानेपानीका मुहानहरु र पाइपलाइनहरु बगाएकाले समस्या भएको हुनसक्ने बताउँदै त्यस्तो समस्या भए तत्काल समाधान गरिने बताए । खानेपानीको समस्या हटाउन आकासे पानीलाई जम्मा गर्न घैंटे ट्यांकी पनि बनाइएको र कतिपय ठाउँमा बनाइरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्