कानून कार्यान्वायनमा सम्झौता नगर्न डिएसपीलाई निमित्त आइजिपीको निर्देशन « Drishti News – Nepalese News Portal
Logo

कानून कार्यान्वायनमा सम्झौता नगर्न डिएसपीलाई निमित्त आइजिपीको निर्देशन


दृष्टि न्यूज



काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच कानून कार्यान्वायनमा सम्झौता नगर्न निर्देशन दिएका छन् ।


साधन श्रोतको उच्चतम प्रयोग गरी शान्ति सुरक्षा कायम गर्नुका साथै प्रमाणमुखी अनुसन्धानमा जोड दिनुपर्ने कार्कीको अडान थियो । कानुन कार्यान्वयनमा कुनैपनि सम्झौता नगरी जिम्मेवारी वहन गर्नुको साथै आफू मातहत प्रहरी कर्मचारीहरूको आचरण एवं व्यवहार शिष्ट बनाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न गराउन उनले निर्देशन दिएका छन् ।


निमित्त प्रहरी महानिरीक्षक कार्कीले आफ्नो ज्ञान, सीप र कौशल मातहत प्रहरी कर्मचारीहरूलाई समेत प्रवाह गर्न र आ–आफ्नो क्षेत्रको सुरक्षा चुनौतीको विश्लेषण गरी कार्ययोजनाका साथ काम गर्नुपर्ने उल्लेख गरे । वर्तमान परिवेशलाई मध्यनजर राखी परिस्थिति अनुसार आफ्नो क्षमता र व्यवसायिकता प्रदर्शन गरी सिर्जनशील काम गर्नुपर्नमा उनको जोड थियो ।


उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा समेतले सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।


प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भारत भ्रमणमा रहेकाले एआइजी कार्की निमित्त महानिरीक्षक भएका हुन् । सिनियर एआइजी हरि पालले निमित्तको जिम्मेवारी नपाएपछि उनी विदामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्