Logo
Logo

दर्पणको ‘तिम्ले बाटो फेर्यौं अरे-३’ आउँदै : फरक के छ ?



काठमाडौं ।

पाइला सँगै चल्दैथियो खै कहाँ ढिला भो
बाटो पनि एउटै थियो, खै कसरी अलमल भो

प्रस्तुत गीत हो, ‘तिम्ले बाटो फेर्यौं अरे-३’को फस्र्टलाइन । ‘तिम्ले बाटो फेर्यौं अरे’ बोलको गीत नसुन्ने सायदै होलान् नेपाली श्रोता । तिनै गीतको तेस्रो सिरिजका रुपमा गीतकार दर्पण राईले ‘तिम्ले बाटो फेर्यौं अरे-३’ ल्याउँदैछन् । यही शुक्रबार रेकर्ड भएको यो गीत डिसेम्बर ३ मा एमएमएस इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुँदैछ ।

यसअघि विभिन्न भर्सन तथा सिरिजमा आइसकेको ‘तिम्ले बाटो फेर्यौं अरे’ नेपाली सांगीतिक बजारको ब्लकबस्टर गीत पनि हो किनकि, जुन गीतले गीतकार दर्पण राईलाई मात्र चिनाएनन् । यसै गीतले संगीतकारदेखि गायक/गायिकासम्मलाई चर्चित बनाएको छ ।

अहिले पनि उक्त गीतको विभिन्न भर्सन र सिरिज आउनेक्रम जारी छ । यस गीतको हरेक भर्सन तथा सिरिजलाई श्रोता तथा दर्शकले रुचाउँदै आएका छन् । त्यसैले पनि गीतकार दर्पणले यस गीतलाई नयाँ नयाँ भर्सनमा रकर्ड गराउँदै आएका छन् ।

यसैक्रममा ‘तिम्ले बाटो फेर्यौं अरे-३’ पनि तयारी भएको छ । गायक तथा संगीतकार विक्रम राईको संगीत रहेको यस गीतलाई फिमेल र चाइल्ड भर्सनलगायतमा आइसकेको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईका लागि समेत यो गीत ‘टर्निङ प्वाइन्ट’ बनेको थियो । यसै गीतलाई चर्चित गायक राजेशपायल राईले समेत गाएका छन् । तर, श्रोताले मेलिनाले गाएको फिमेल भर्सनलाई बढी रुचाइए । पछिल्लो सिरिजलाई पनि मेलिना राईले नै गाएकी छन् ।

पहिलोपटक ‘तिम्ले बाटो फेर्यौं अरे’ बोलमा रेकर्ड भएको यो गीत दुई र तीन सिरिजसम्म आइपुग्दा केही शब्दमात्र थपघट गरिएको छ । भाव र शैली भने एउटै रहेको गीतकार दर्पणको भनाइ छ । उनका अनुसार ‘तिम्ले बाटो फेर्यौं अरे–३’मा सुरुका दुई लाइनमात्र थपिएको छ । उनले भने, ‘भाका र भाव एउटै हो । तैपनि श्रोता तथा दर्शकले केही भिन्न स्वाद भने पाउनेछन् ।’

यसै गीतमार्फत गीतकारका रुपमा चर्चामा आएका दर्पण राईले अरु पनि थुप्रै गीत रेकर्ड गराएका छन् । तर, ती गीतमध्ये उनलाई पनि ‘तिम्ले बाटो फेर्यौं अरे’ नै बढी रुचाउँछन् । उनी भन्छन्, ‘आफ्ना सबै सिर्जना राम्रो लाग्छ, तैपनि दर्शक तथा श्रोताले बढी रुचाएकाले होला, म तिम्ले बाटो फेर्यौं अरे गीतबाट सन्तुष्टि छु ।’

त्यसो त दर्पणले यही नाममा नेपाली फिल्मसमेत बनाउने घोषणा गरिसकेका छन् । यदि कोरोना महामारी नआएको भए सायद यतिखेर नेपाली दर्शक तथा श्रोताले सिनेमाको पर्दामा समेत ‘तिम्ले बाटो फेर्यौं अरे’ हेर्न पाउने थिए । दर्पण भन्छन्, ‘फिल्म बनाउने योजना कायमै छ, केही ढिलो भएको मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्