Logo
Logo

खोप नलगाएका व्यक्तिका लागि अस्ट्रियामा लकडाउन



काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अस्ट्रियामा त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको छ ।

सो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने बीबीसीले जनाएको छ । लकडाउन सुरुमा १० दिनसम्म रहने बताइन्छ ।

झण्डै ९० लाख जनसङ्ख्या रहेको यो देशमा लकडाउनबाट बीस लाख नागरिक प्रभावित हुने खबरमा उल्लेख गरिएको छ । अस्ट्रियामा कुल जनसङ्ख्याको झण्डै ६५ प्रतिशतले मात्र पूर्णरूपमा खोप लगाएका छन् । पछिल्लो समय त्यहाँ सङ्क्रमण फैलिएसँगै अस्पतालमा बिरामीको भीड बढेको छ ।

खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिबाना हुनेछ । खोप लगाए नलगाएका व्यक्तिहरुको सुरक्षा जाँच प्रहरीले गर्नेछ । प्रहरी नागरिकले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा खटिने छ ।

प्रतिक्रिया दिनुहोस्