Logo
Logo

मुगुको सदरमुकाममा आगलागी, २१ वटा घर जलेर नष्ट



काठमाडौं । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।

प्रजिअ महतका अनुसार हालसम्म पुर्णरुपमा आगो निभ्न बाँकी रहेकोले अहिले पनि आगो निभाउने प्रयास भइरहेको छ । साँघुरो र बाक्लो बजार भएका कारण आगो निभाउनमा समस्या देखिएको उनले बताए ।

अहिले नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको उनले जानकारी दिए । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उनले बताए ।

प्रजिअ महतले आगो लाग्नुको कारणबारे निश्चित भइनसकेको बताए । मानवीय क्षति नभए पनि कराडौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्