Logo
Logo

भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि चयन गर्दै



धनगढी । एमाले कैलालीका अध्यक्ष रतन थापाले महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै अर्को पक्षले पनि प्रतिनिधि छान्ने भएको छ । एमाले उपाध्यक्ष भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको हो ।

उक्त पक्षले प्रतिनिधि छनोटका लागि बुधबार भेला बोलाएको छ । भेलाले सर्वसम्मत रुपमा वा निर्वाचनका माध्यामले प्रतिनिधि छनोट हुने सो पार्टीका प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्यासी महादेव बजगाईले बताए ।

‘मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नम्बर २ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरि छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु’, बजगाईँले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

महाधिवेशनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा जिल्ला अध्यक्षले एकलौटी रुपमा महाधिवेशन प्रतिनिधिको नाम घोषणा गरेको आरोप लागेको छ ।

अर्को पक्षले भने पाँच वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको जनाएको छ । अन्य निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएकोमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा भने मतदानको प्रक्रियाद्वारा छनोट गरिएको उक्त पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्