काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा अन्य दलसँग चुनावी तालमेल आवश्यक नभएको बताएका छन् ।
बिहीबार सम्पादकहरुसँगको भेटमा उनले चुनावी प्रतिस्पर्धाका लागि कांग्रेस एक्लै काफी रहेको बताए । उनले भने, ‘कांग्रेस पंक्ति आफ्नै शक्तिमा चुनाव लड्नुपर्छ भन्नेमा छ । चितवनको जस्तो व्यथा अरू ठाउँ पनि छ । अरूसँग अलायन्स गरेर जाने कुरै छैन, प्रतिस्पर्धा गर्न कांग्रेस एक्लै काफी छ ।’
नेता सिंहले शेरबहादुर देउवाले बोक्ने इमेजबाट कांग्रेसलाई मुक्त गर्नको लागि आफू सभापतिको उम्मेदवार बन्न लागेको बताए ।
नेता सिंहले लोकतन्त्र र संविधान जोगाउनका लाग कांग्रेसलाई अनुभवी नेतृत्व चाहिएको बताए । उनले भने, ‘१३औं महाधिवेशनपछि कांग्रेस निकै कमजोर भयो, त्यहीकारण कम्युनिस्ट बढे। कम्युनिस्टहरु बढ्दा लोकतन्त्र खतरामा परेको छ ।’
सिंहले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने सार्वजनिक घोषणा गरिसकेका छन् ।












