Logo
Logo

रौतहटमा हावा भर्ने ट्यांकी पड्किदा एक जनाको मृत्यु, एक घाइते



रौतहट । हावा भर्ने ट्यांकी पड्किदा रौतहटमा एक युवकको मृत्यु भएको छ । जिल्लाको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी पड्किएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी पड्किएर स्थानीय समसुल मियाँको ज्यान गएको हो । ग्यारेज सञ्चालक रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ट्यांकीमा हावा भर्ने क्रममा क्षमताभन्दा बढी हावा भरिएपछि पड्किएको हुन सक्ने इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी श्रीराम भण्डारीले बताए । विष्फोटमा परी स्थानिय जैसी यादव घाइते भएका छन् । ट्याकी पड्किएको हुँदा फलामको टुक्रा उछिट्टिएर यादवको हातमा चोट लागेको डीएसपी भण्डारीले बताए । ट्यांकी पड्किँदा ठूलो आवाज आएको र ट्यांकीका टुक्राहरु टाढासम्म छरिएको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्