Logo
Logo

माओवादी केन्द्रको आज देशभरका ६ हजार ७४३ वडामा एकैसाथ सम्मेलन


प्रकाश चाम्लिङ राई


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज (शनिबार) देशभर वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगले शनिबार देशभरका ६ हजार ७४३ वडामा नेतृत्व चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाइएको जानकारी दिएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्ने र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।

आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको र समितिहरुलाई निर्वाचन नियमावलीबारे प्रशिक्षण दिएको श्रेष्ठले बताए । प्रदेशको सम्मेलनपछि माओवादीले आगामी पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रवक्ता कृष्ण बहादुर महराले विज्ञप्ति जारी गर्दै वडा सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको र पार्टीलाई नयाँ शिरबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त्त गरे ।

‘पार्टीको वडा सम्मेलनले कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा बर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ’ प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

माओवादीले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्ने र नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने गरी नीतिगत व्यवस्था गरिएको निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार सर्वसम्मत नेतृत्व चयन भएमा निर्वाचन समितिले विधि प्रक्रिया पुरा गर्नेछ । यति सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जाने र त्यसका लागि आवश्यक व्यवस्था गरिएको उनले बताए ।

कति पुग्यो पार्टी सदस्य संख्या ?
माओवादीको शुक्रबारसम्ममा सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको सदस्यता व्यवस्थापन समितिका शिव खकुरेलले जानकारी दिए । अहिलेसम्म सात लाख ३५ हजारले सदस्ता लिएको तर गैरभौगोलिकबाट आउने संख्या भने एकीन गर्न बाँकी रहेको उनले बताए । सदस्यता लिने म्याद शनिबार (आज) सम्म बाँकी रहेकोले संख्या थपिने अनुमान केन्द्रीय कार्यालयले लिएको खकुरेलको भनाई छ ।

पार्टीको गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी समितिको निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुदृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठितगर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्