ललितपुर । ललितपुरको थ्री स्टार क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो । थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे ।
जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ । च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ । खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए । यसअघि शनिबार नै भएको पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । तर, खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए र दुवै टीमले अंक बाढे ।
खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए । लिग अन्तर्गत आइतबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।











