Logo
Logo

रेवतले ३२ बर्षपछि ‘तिमी तारे भीर’ गाउँदा रोए शान्तिराम ! (भिडियो)



काठमाडौं । ३२ बर्ष अगाडीको कुरा हो । काठमाडौंको रातोपुलस्थित झण्डै ८० बर्ष पुरानो बर्खेझार पलाएको घर । जुन घरको मासिक भाडा १५० रुपैयाँ तिर्नु पर्थ्यो । त्यहि घरको थोत्रो सेपीलो कोठामा बसेर गीत ‘तिमी तारे भीर’ सिर्जना भएको कुरा भावुक हुँदै सम्झन्छन् संगीतकार शान्तिराम राई ।

‘हर्लिक्सको बोतलमा भक्तपुरे आगोबल्ने रक्सी । एकप्लेट साँधेको भटमास र काँचो अदुवाको टुक्रा । रित्तीदै जान लागेको सिल्बरको दुईटा कप । हातमा गिटार बजाउँदै छ श्रवण । गल्दैजाने देब्रे पाखुराले पुरानो हारमोनियमको कडा पंखा चलाउँदै हुन्छु म’, उनले गीतको भिडियो सार्वजनिक गर्दै लेखेका छन, ‘रातको १ बजे निथ्रुक्कै भिज्छ आँखा हाम्रो र पनि धितै नमर्ने गरी गाईरहेका हुन्छौं । रातभरि गाएर नथाक्ने ‘तिमी तारे भीर !’ ठीक ३२ बर्ष पछि यही गीतले फेरी रुवायो ।’

श्रवण मुकारुङ

नेपालमा पछिल्लो समय पुराना गीतलाई नयाँ भर्जनमा बनाएर सार्वजनिक गर्ने चलन बढ्दै गएको छ । यस्तै ३२ बर्ष अगाडि गायिका पवित्रा सुब्बाको आवाजमा रेकर्ड भइ दर्शकको मनमा बस्न सफल गीत ‘तिमी तारे भीर’को मेल भर्जन भिडियोसहित शनिबार सार्वजनिक गरिएको छ ।

कवि तथा गीतकार श्रवण मुकारुङले ३२ बर्ष बर्ष पहिले लेखेको यस गीतलाई मेल भर्जनमा युवा गायक रेवत राईको आवाजमा सार्वजनिक गरिएको हो । गीतलाई संगीतकार शान्तिराम राईले संगीत भरेका छन् भने देवेश राईले संगीत संयोजन गरेका छन् ।

मकवानपुरस्थित चित्लाङ क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा लोकप्रिय अभिनेता दयाहाङ राई र मिरुना मगरको जिवन्त अभिनय देख्न सकिन्छ । यस्तै बाल कलाकार नुमा राईको पनि उत्कृष्ट अभिनय छ ।

यस भिडियोलाई भने अहिलेका निकै व्यस्त युवा निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् । निर्देशकले प्राकृतिक सुन्दरतामा एक प्रेमिल परिवारलाई पात्रमा बगाइएका छन् । भिडियोमा माया, प्रेम र मानिसको जिबनमा हुने वियोगान्त क्षणलाई चित्रण गरिएको छ ।

सानैदेखि गीत संगीतमा होमिएका खोटाङ्गे युवा गायक रेवत राईको यस्ता थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् । उनले सांस्कृतिक जागरणका गीतहरु पनि गाएका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्