Logo
Logo

देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै, मल्ल समूहद्वारा बहिस्कार



डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएका हुन् ।

देउवाले मन्जुरीनामामार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले जानकारी दिए । कांग्रेस विधानको धारा १५ को उपधारा १(ग)मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

साउदका अनुसार देउवालाई विगतमा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनावमार्फत ल्याउने गरिँदै आएको थियो । ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई जिल्लाबाट महाधिवेशन प्रतिनिधि लडाउँछौँ । उहाँ स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । तर हामीले प्रत्येक महाधिवेशनमा उहाँलाई जिल्लाबाटै पठाउने गरेका थियौँ । भाउजू (देउवा पत्नी आरजु राणा)लाई पनि डडेल्धुराबाटै लडाउने भएका छौँ’, उनले भने ।

यस्तै, गोविन्द बोहोरा, नैनसिंह महर, रघुवीर भट्ट, जनक कलौनी लगायतका नेताहरु अधिवेशनको तयारीमा जुटेको साउदको भनाइ छ । उनले भने, डडेल्धुराको अधिवेशन उत्साहजनक रुपमा सम्पन्न हुँदैछ । डडेल्धुरा पूरै झिलिमिली भएको छ ।

जिल्ला अधिवेशनका लागि मान्छेहरु आइतबार नै आइसकेका छन् । एउटा ऐतिहासिक पर्वका रुपमा अधिवेशन सम्पन्न गर्दैछौँ । डडेल्धुरामा सोमबार जिल्ला अधिवेशन हुँदैछ । साउदका अनुसार ११ बजे उम्मेदवारी दर्ता हुने छ भने एक बजेपछि मतदान सुरु हुनेछ ।

यता वर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने जिल्लामा सबै तहको अधिवेशन बहिस्कार गरेको छ । मल्ल समूह मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ ।

प्रतिक्रिया दिनुहोस्