Logo
Logo

महानगरीय प्रहरी कार्यालयमाथि गृह मन्त्रालयको छानबिन




काठमाडौं । शंकास्पद गतिविधिमा संलग्न पाँच भारतीयलाई प्रहरीले पक्राउ गरी गोप्य रुपमा छाडेको घटनामा गृह मन्त्रालयले छानबिन थालेको छ । करिब एक महिनाअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जना भारतीयलाई पक्राउ गरेको हो ।


संयुक्त अरब इमिरेट्(यूएइ)को शारजहा विमानस्थलबाट उनीहरु नेपाल आएका थिए । विमानस्थलबाट निस्किएलगत्तै महानगरीय प्रहरी कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसबारे माथिल्लो निकायलाई कुनै जानकारी नगराइएको र उनीहरुको अवस्थाबारे जानकारी नपाएपछि गृहले छानबिन थालेको छ । गृह सचिव टेकनारायण पाण्डेले यससम्बन्धि थप छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन समेत दिएका छन् ।


स्रोतका अनुसार विमानस्थलका प्रत्यक्षदर्शीले गरेको उजुरीका आधारमा यसको छानबिन थालिएको हो । भारतीय नागरिकहरु यासिर अराफाद, मोहम्मद नुर, मोड रसद,सकिल अली, मोहम्मद रहबु कात्तिक ५ गते नेपाल आएका थिए । ‘सिसिटिभी फुटेजमा उनीहरुलाई महानगरीय प्रहरी कार्यालयका रानीपोखरीका डिएसपी नमराज भट्टराईले नियन्त्रणमा लिएर लिएर गएको देखिन्छ,’ छानबिनमा संलग्न गृहका एक अधिकारीले भने,‘तर, उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ, त्यसबारे प्रहरी मुख्यालयलाई पनि जानकारी गराइएको पाइएन ।’ पक्राउ गर्न डिएसपी नेतृत्वको टोली सादा पोशाकमा गएको थियो । उनीहरुमध्ये कोही होटल लाफा त कोही होटल मन्त्रमा बस्ने गरी अध्यागमनमा आफ्नो विवरण टिपाएका थिए । उनीहरु अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु भएको सूचना गृह मन्त्रालयले पाएको छ । डिएसपी भट्टराईलाई एआइजी हरि पालले सादा पोशाकमा खटाउँदै आएका छन् ।


महानगरीय प्रहरी कार्यालयका डिएसपी भट्टराईले अपराधीक गतिविधिमा संलग्नताको आशंकामा केहीलाई पक्राउ गरिएको र पुष्टि हुन नसकेपछि छाडिएको बताए । तर, यसबारे विमानस्थल प्रहरीलाई जानकारी दिइएको थिएन । सामान्यतया महानगरीय प्रहरी कार्यालयले अनुगमनका काम गर्ने भएपनि आफैं पक्राउ गर्न गएको घटना शंकास्पद देखिएकाले छानबिन थालिएको गृह मन्त्रालय स्रोत बताउँछ । ‘भारतीय नागरिकहरु यूएई हुँदै नेपाल आउनु आफैंमा शंकास्पद छ,’ छानबिनमा आबद्ध गृहका अधिकारी भन्छन्,‘उनीहरुमध्ये दुई जना जम्मु कस्मिरका छन्, उनीहरु अपराधिक समूहमा आबद्ध भएको हुनसक्ने देखिन्छ । तर, उनीहरुको अवस्थाबारे हाल जानकारी पाउन सकिएको छैन । प्रहरीको औपचारिक रेकर्डमा केही देखिन्न ।’ छानिबनमा कुनै कमजोरी भेटिए एआइजीसम्मलाई कारबाही गर्ने गृहको तयारी छ । पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाण र एआइजी हरि पालबीच सम्बन्ध बिग्रिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्