Logo
Logo

पदाधिकारी चयनमा दबाब दिन्न : ओली


2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने स्पष्ट पारेका छन् ।

महाधिवेशनका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारेका हुन् ।

कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफुले कुनै सुझाव वा कदम नचाल्ने उनको भनाई छ । आफूले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको भन्दै उनले आफू अध्यक्षमा उठ्ने भए पनि अरुलाई अध्यक्षमा नउठ्नु नभन्ने बताए । अध्यक्षमा उम्मेद्वारी दिएर आफूलाई भीम रावलले चूनौति दिएको नभई आफूप्रति देखाएको स्नेहपूर्ण सम्मान भएको उनले बताए ।

त्यस्तै उनले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहदा विवाद अन्त्य भएको दाबी गरे । आफूहरु प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धिकरण र सुदृढीकरणको अवसर मिलेको उनको भनाई छ । अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती पनि दिए । ओलीले महाधिवेशनको उद्घाटनका बेला चितवनमा देशभरबाट नेपालमा रहेका सवारी साधानले बोक्न सक्ने जति मानिसलाई उतार्ने बताए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखिएको समास्या समाधान गर्न सवै न्यायधिशले राजीनामा गर्नुपर्ने बताए । अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको भन्दै उनले त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने जिकिर गरे । उनले आफुलाई संसदले नभई अदालतले हटाएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले महाधिवशेनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उद्घाटन समारोहमा पाँच लाख भन्दा बढीको जनप्रदर्शन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्