Logo
Logo

मनकामना केबलकार २४औँ वर्षमा प्रवेश

केबलबार स्तरोन्नति र नयाँ रिसोर्ट निर्माण गरिने



काठमाडौं । चितवन को–ई समूहअन्तर्गतको मनकामना दर्शन प्रालि मनकामना केबलकार सञ्चालनमा आएको २३ वर्ष पूरा गरी आजबाट २४ वर्षमा प्रवेश गरेको छ । यससँगै हाल केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् ।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै केबलकारको लठ्ठा, ग्रिपलगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने बताइएको छ ।

यही चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको श्रेष्ठले जानकारी दिए । स्तरोन्नतिको काम तीन चरणमा गर्न लागिएको छ । यात्रु र भक्तजन कम हुने सिजन पारेर स्तरोन्नतिको काम थालेर आउँदो आर्थिक वर्षको भदौसम्ममा पूरा गर्ने योजना रहेको उनले बताए । चरणवद्ध रुपमा विस्तारको काम गर्न लिएको हुँदा यो अवधिभर केबलकारको नियमित सेवा भने यथावतै रहने पनि उनले जानकारी दिए ।

कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साबिककै रहनेछ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुनेछ ।

विसं २०५५ मंसिर ८ बाट सञ्चालनमा आएको केबलकारले हालसम्ममा डेढ करोडभन्दा एक करोड ६० लाख यात्रु र भक्तजनलाई सेवा दिएको जनाएको छ ।

त्यसैगरी मनकामना केबल कारको टप स्टेशन (गोरखा) मा रिसोर्ट निर्माण गर्ने भएको छ । रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक श्रेष्ठले बताए । कुल ४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुने उनको भनाइ छ । अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।

मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको श्रेष्ठले बताए । रिसोर्ट सञ्चालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना र स्तरीय पर्यटकको आवागमनमा वृद्धि हुने उनको विश्वास छ । रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, एक सय जना क्षमताको कन्फ्रेन्स हललगायतका सुविधा रहने श्रेष्ठले जानकारी दिए ।

रिसोर्टबाहेक हाल संचालनमा रहेको मनकामना केबलकारको पनि व्यापक स्तरोन्नति गर्न लागिएको बताइएको छ । स्तरोन्नतिमा मात्र करिब ३० करोड रुपैयाँ खर्च हुने श्रेष्ठले बताएका छन् । केबलबार स्तरोन्नति र नयाँ रिसोर्ट निर्माणमा गरी कुल ६५ करोड रुपैयाँ खर्च गर्ने योजना चितवन को–ईले बनाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्