Logo
Logo

कांग्रेसको प्रदेश नं १ अधिवेशन मंसिर १६ मा हुने



विराटनगर । नेपाली कांग्रेस प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन यही मङ्सिर १६ गते हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस प्रदेश नं १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले कांग्रेस प्रदेश नं १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका–९ जहदा रोडमा रहेको सिद्धी पार्टी प्यालेसमा हुने छ ।

संयोजक कृष्णप्रसाद सिटौलाले अधिवेशनका लागि आवासलगायत सबै व्यवस्थापनको जिम्मा कांग्रेस मोरङ समितिको रहने, अधिवेशन सम्पन्न गर्न कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू संयोजक, भीम पराजुली सहसंयोक र केन्द्रीय सदस्य अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ समिति गठन भएको छ ।

अधिवेशनको प्रचारका लागि कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरे सदस्य सचिव रहेको प्रचार समितिको सदस्यमा प्रेस युनियनका प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र सुनसरीका अजित झा छन् ।

कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नं १ का १४ जिल्लाका २८ सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र सङ्घीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७०० महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्य साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका मतदात हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रदेश अधिवेशन बनाइएको आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेशसभा संसदीय दलका नेता, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्