काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज (बिहीबार) उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल-रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो । सो अवसरमा श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीले भीषा आवेदन दिन नयाँ दिल्ली जनुपर्ने बाध्यता भएको बताउँदै नेपालबाटै हुने गरी सहजिकरणको गरिदिन आग्रह गरे ।
मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढेको बताए । नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण पनि गराए ।
पछिल्लो पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या ७ हजार ६ सय १८ जना रहेको छ । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।
नेपालको तर्फबाट जर्मनीको बर्लिन र रोमानियाको तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दुतावासमार्फत कुटनीतिक सम्वन्ध कार्यान्वयन भइरहेको छ ।
युरोपेली मुलुक रोमानियामा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले नेपालीका लागि उपयुक्त गन्तव्य हुनसक्ने वैदेशिक रोजगार सम्वन्धि विज्ञहरुको भनाइ छ ।
राजदुत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । नवनियुक्त राजदुत डेनियला राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्लीबाट काठमाडौं आएका थिए ।