Logo
Logo

चितवनमा आजदेखि एमालेको महाधिवेशन, को-को नेताले गर्दैछन् सम्बोधन ?



काठमाडौं । आजदेखि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरू हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन स्थल र चितवनका सडक झन्डा तथा प्रचार सामग्री राखेर सजाइएका छन् ।

उद्घाटनअघि तीन ठाउँबाट नेता÷कार्यकर्तासहित र्‍याली निकाल्ने एमलेको तयारी छ । एमालेले महाधिवेशनमा लाखौं नेता÷कार्यकर्ता उतार्ने तयारी गरेको छ । एमालेले महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि एमालेले अरू पार्टीलाई पनि निम्तो दिएको छ ।

महाधिवेशनका लागि एमाले अध्यक्ष ओलीसहित एमालेका सबै नेताहरू चितवन पुगिसकेका छन् । आज महाधिवेशन उद्घाटन गर्ने र शनिबारदेखि सौराहमा बन्द सत्र तथा उम्मेदवारी मनोनयनलगायतका कामहरू हुनेछन् ।

नेकपा (एकीकृत समाजवादी) लाई एमालेले महाधिवेशनमा बोलाएको छैन । त्यसैले एमाले महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सर्वोच्च नेता झलनाथ खनाल देखिने छैनन् । एमालेले विदेशका विभिन्न पार्टीहरूलाई महाधिवेशनका लागि निम्तो दिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले भने एमाले महाधिवेशनमा भिडिओ सन्देश पठाउने जनाइएको छ । भारत, बंगलादेश, श्रीलंकालगायत विभिन्न देशबाट भने विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै नेताहरू आउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज एमाले महाधिवेशन सम्बोधन गर्न चितवन जाँदैछन् । उनी हेलिकप्टरबाट चितवन जाने कार्यक्रम छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने छन् । प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो । चितवनमा एमालेले महाधिवेशन गरेकोमा प्रचण्डले असन्तुष्ट जनाएका छन् ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न अध्यक्ष ठाकुर बिहीबार नै चितवन पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्