Logo
Logo

आजदेखि जिल्ला अधिवेशन गर्दै कांग्रेस



काठमाडौं । आजदेखि नेपाली कांग्रेसले एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा जिल्ला अधिवेशन गर्दैछ । आजदेखि काठमाडौंलगायत विभिन्न ४२ जिल्लामा जिल्ला अधिवेशन सुरू गर्ने कांग्रेसको तयारी छ । अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

केही जिल्लामा भने सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको संयुक्त प्यानल बनेको छ । नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा पक्षले संयुक्त रूपमा प्यानल बनाएका छन् । काठमाडौंमा सिंह,थापा पक्षबाट अहिलेका सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच सभापतिमा प्रतिस्पर्धा हुँदैछ ।

चितवन, मकवानपुरलगायत जिल्लामा भने अधिवेशन सारिएको छ । प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने हुँदा पछि जिल्ला अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

चितवनमा भने आज एमालेको महाधिवेशन भएकोले कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले यही मंसिर १६ देखि १७ सम्म प्रदेश अधिवेशन गर्दैछ । विराटनगर, जनकपुरधाम, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।

कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि सकेको छ । प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि २६ जनाका दरले प्रतिनिधि आउने कांग्रेसले जनाएको छ । कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्