Logo
Logo

झण्डै पाँच महिनापछि देउवा र ओली एउटै मञ्चमा




चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन् । प्रधानमन्त्री देउवा कार्यक्रम स्थलमा पुग्नेवित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीका साथ मञ्चमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीले संयुक्त अभिवादन गर्दा कार्यकर्ताले हुटिङ र नाराबाजी गरेका थिए । झण्डै पाँच महिनापछि देउवा र ओली मञ्चमा सँगै देखिएका हुन् ।

यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी भएयता उनीहरू एकै ठाउँमा देखिएका थिएनन् । प्रधानमन्त्रीका रूपमा देउवाले सपथ लिँदासमेत ओली उपस्थित भएका थिएनन् । प्रधानमन्त्री देउवाले एमालेको महाधिवेशलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमाले महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने गएनन् । एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई एमालेले निम्तो नै दिइएको छैन ।

एमाले महाधिवेशनमा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरू पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्