Logo
Logo
साहित्य

माटोको मायाको बोली



आजको दिन आफैमा सुन्दर छ
किनकि सुन्दर उषाको बिहानीले ल्याएको यो दिन
अत्यन्त सुन्दर छ
यस दिनले एउटा निरन्तरता बोकेको छ
एउटा यात्राको यौवन बोकेको छ
जीवनको उकाली–ओराली बोकेको छ
खुसी बोकेको छ

त्यसैले यो दिन अति सुन्दर छ
यो आफै उद्घोषित भएको छ
एउटा यात्राको चौतारीमा
अलिबेर सुस्ताएको क्षण
हिँडेको बाटो हेर्न
कसरी तय गरिएको थियो भनेर
सोच्ने, बुझ्ने, गुन्ने, यो दिन
चाहनाको उद्गम भएको दिन
तिम्रो दिन
मेरो दिन
अनि हाम्रो दिन
ती मुनाहरू
लहलहाउँदा भएको देख्दा
यो दिन आफै सुरम्य भएको छ
प्रणम्य भएको छ
यस दिनले एउटा यात्रालाई
नवीकरण गर्दै लगेको छ
यस दिनको निरन्तरताको उषाले
सधैँ एउटा सुन्दर बिहानी ल्याएको छ
उसको बिहानी भित्र म छु
एउटा धरती छ
सुन्दर फूल छन्
हाम्रो आकाश छ
जसको विशालता भित्र
फैलिएको हाम्रो माया
धरतीको श्वास बनेर रहेको छ
अँध्यारोको जुन बनेर रहेको छ
पवनको गति
नदीको ध्वनि
अनि यस माटोको
मायाको बोली भएर रहेको छ

प्रतिक्रिया दिनुहोस्