Logo
Logo

महालेखा परिक्षककको कार्यालयमै भ्रष्टाचार, तीन कर्मचारीविरुद्ध मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
भूमिसुधार तथा मालपोत कार्यालय कलैयामा कर्मचारीले साढे दुई करोड रुपैयाँ राजस्व हिनामिना गरेका छन् । जसमा महालेखापरीक्षकको कार्यालयका कर्मचारीको समेत मिलेमतो रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आगोगले बुधबार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्ताको योजनामा २० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्म संकलित राजस्वमध्ये दुई करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ अनियमितता भएको अख्तियारले जनाएको छ । जसमध्ये एक करोड ३५ लाख ७० हजार दुई सय ९४ रुपैयाँ नक्कली रसिद प्रयोग गरी राजस्व उठाइएको थियो ।
गुप्तासँगै मालपोत कार्यालय कलैया बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी र लेखापाल युगलकिशोर ठाकुरविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । अनियमिततामा लेखापरीक्षण गर्ने निकायको समेत मिलेमतो खुलेको छ ।

आन्तरिक लेखापरीक्षण तथा अन्तिम लेखापरीक्षण गर्दा कार्यालयमा रहनुपर्ने सक्कल कागजातविना नै करोडौँ रुपैयाँ राजस्व हिनामिना भएको, नक्कली राजस्व रसिदको प्रयोग गरिएको तथा कार्यालयका सक्कल कागजात लुकाएको खुलेको अख्तियारले जनाएको छ । आर्थिक प्रभावमा परी बदनियतपूर्वक लेखापरीक्षण प्रतिवेदन तयार गरेको देखिएकाले कोष तथा लेखानियन्त्रक कार्यालय बाराका लेखापालद्वय प्रवीण गौतम तथा कमल खतिवडा र महालेखापरीक्षकको कार्यालय बबरमहलका निर्देशक अजयकुमार सापकोटाविरुद्ध समेत मुद्दा दायर भएको छ ।
अनियमितता पत्ता लगाउने र सच्याउने जिम्मेवारी पाएको महालेखाकै कर्मचारी भ्रष्टाचारमा संलग्न हुने गरेको यो घटनाले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्