Logo
Logo

’ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको पहिलो जित



काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब पहिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरेका हुन ।

खेलको १७ औं मिनेटमा च्यासलका मिडफिल्डर अजित गुरुङको सशक्त प्रहार एपीएफका गोलकिपर राजु योगीले मुश्किलले बचाए थिए । एपीएफका आशिष लामाले ३० औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरिएको थियो । खेलको ४० औं मिनेटमा कर्नरबाट आएको बलमा च्यासलका विकास मेराग्लियाको हेडर एपीएफका राजन गुरुङले गोललाईन नजिकैबाट बचाए ।

लगत्तै च्यासलका सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले क्लियर गरिदिएका थिए । खेलको ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा सुन्दर गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो । जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्