Logo
Logo

अर्काेपटक दुई तिहाई ल्याउँछौैंः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


३ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्काे चुनावमा पार्टीले दुई तिहाई ल्याउने दाबी गरेका छन् । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीसँग दुई तिहाई अलितकति पुगेको छैन, तिनीहरुलाई हाम्रो बहुमत नपचेर के गर्नु ? अर्को पटक नेकपाले एकल रुपमा दुई तिहाई ल्याउँछ । हाम्रो यो सफलताको शिखर होइन, आरम्भ हो ।’

एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने तर,भण्डारीले हिजो जे भनेका थिए, त्यहीमात्र अन्तिम नभएको उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको विचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरेका थिए ।

अर्का अध्यक्ष ओलीले भण्डारीको विचार छाड्न नमिल्ने जवाफ दिए । उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’
उनले अघि भने, जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

सरकारको बचाउ गर्न कार्यकर्तालाई निर्देशन
प्रचण्डले पार्टीको विचारबारे अधिकांश समय बोल्दा ओलीले भने सरकारका कामकारवाहीको बचाउमा समय खर्चिए ।
जनतामा निराशामा बाँड्ने र समाजमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले सिंगो पार्टी एकजुट भएर विपक्षीका भ्रम चिर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको छ । यस्ता कुरामा हाम्रो पार्टी सजग र एकताबद्ध ढंगले अघि बढ्नुपर्छ । गणतान्त्रिक संस्था र पद्धति विरुद्धको सुनियोजित प्रचारविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिको होइन । गणतान्त्रिक पद्धतिको बिरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएपछि कांग्रेस र केही बुद्धिजिवीहरु ‘मेरो सरकार’को पछि लागेको ओलीले बताए । संसारभर राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्ने गरेको भन्दै उनले कुवाभित्रबाट आकाश जत्रो देखिन्छ त्यत्रोमात्र हुन्छ भन्ने ठान्न नहुने बताए ।

ओलीले अघि भने, ‘राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन नपढेर कसको सरकारको प्रतिवेदन पढ्छ ? मेरो सरकारको होइन भने कसको सरकारको नीति कार्यक्रम पढ्ने ? यस्ता स्याल हुँइयामा देशको जेठो भनिएको पार्टी कांग्रेस त लाग्यो लाग्यो, केही बुद्धिजिवीहरु समेत लागेको देख्दा अचम्म लाग्यो ।’

पार्टी एकीकरणको प्रक्रिया लगभग सकिएको भन्दै उनले सिंगो पंक्ति सरकारको नीतिको रक्षामा उभिनुपर्ने बताए । कार्यकर्ता पंक्ति एकजुट भएर गणतन्त्रान्तिक पद्धतिको पक्षमा दृढतापूर्वक उभिनुपर्ने भन्दै उनले अहिले नेकपाको बहुमत नपचेकाहरुले समाजमा स्वतन्त्रताको नाममा अराजकता सिर्जना गर्न खोजिरहेको बताए । मिडिया र सामाजिक सञ्जालमा अराजकतालाई स्वतन्त्रताको परिभाषाभित्र पार्न जबर्जस्त प्रयास भइरहेको भन्दै नागरिकका पनि कर्तव्यहरु संविधानले प्रष्ट पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्