Logo
Logo

उडायो सपना सबै हुरीले…



काठमाडौं । दुईतिहाइ बहुमतसहित दोस्रोपटक प्रधानमन्त्री निवास बालुवाटार छिरेका केपी शर्मा ओलीले पाँच वर्षे कार्यकाल पनि बिताउन नपाउँदै बालकोट पुग्छु भन्ने कुरा सायदै सोचेका थिए होलान् ।

त्यसैले उनले बालुवाटार बसेर ‘सोम शर्मा’ले जस्तै सपना देख्न थाले । बालुवाटारभित्रको पुरानो प्रधानमन्त्री निवासलाई नेपाली शैलीमा बनाउने सपना देखे ।

त्यस निवासमा आफ्नो सुरक्षाका लागि युद्ध खतराबाट जोगिन बंकरसमेत बनाए । सबैखाले खतराबाट जोगिने उपायका रुपमा ३३ करोड ८० लाख खर्च गरेर ओलीले नयाँ भवन बनाउने निर्णय गरे ।

ओली फुर्सदको बेला नयाँ भवनको निर्माणकार्य हेर्न थान्थे । ठेकेदारसँग पूजाकोठा कता हो भनेर सोध्थे । ठेकेदारले यता हो हजुर भनेपछि तल ओर्लिएर जिमखाना कता हो भनेर सोध्थे । ठेकेदारले यता हो भनेर देखाएपछि फेरि अर्को कोठामा छिरेर योग गर्ने कोठा कहाँ हो नि भनेर सोध्थे ।

ओलीको नवनिर्मित भवनप्रति भावनात्मक सम्बन्ध थियो । बेला–बेला ठेकेदारलाई बोलाएर भवन त समयमै सकिन्छ होला नि, पनि भन्थे । ठेकेदारले समयमै सकिन्छ हजुर भनेपछि उसो भए ठिकै छ भनेर फर्कन्थे ।

तर, के गर्नु ओलीको सपनाको घर निर्माण पूरा त भयो । तर उनले त्यो घरमा एकरात पनि बिताउन पाएनन् । न त जीम गर्ने रहर पूरा गरे, न त पूजापाठ र योग नै गर्न पाए ।

उनका लागि त्यो घर ‘उडायो सपना सबै हुरीले’ भनेजस्तो भयो । बालुवाटार स्रोतका अनुसार उक्त भवन यही मंसिर २४ गते ठेकेदारले प्रधानमन्त्री कार्यालयलाई हस्तान्तरण गर्दैछ । उक्त भवनमा ओली होइन प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रवेश गर्दैछन् । कुन दिन नयाँ भवनमा सर्ने भनेर देउवाले ज्योतिषसँग परामर्श गर्दैछन् ।

‘अभागीलाई खाने बेला रिस उठ्छ’ भनेझैँ गत पुस ५ गते संसद् विघटन गरेपछि ओली सत्ताबाट बाहिरिनुप¥यो । दुर्भाग्य, एमाले पनि फुट्यो । अब फेरि ओली सपनाको त्यो घरमा कहिले फर्किने हुन्, त्यसको फैसला त आगामी प्रतिनिधिसभाको निर्वाचनमा जनताले गर्नेछन् । किनभने, जनताले दिएको दुईतिहाइ मत ओलीले दुरुपयोग गरे ।

प्रतिक्रिया दिनुहोस्