Logo
Logo

सशस्त्रमा बालुवाटारको छायाँ



काठमाडौं । एक व्यक्तिको स्वार्थले सशस्त्र प्रहरी संगठन नै अस्तव्यस्त बन्न पुगेको छ । सिनियर पदमा बढुवाको जाम रहेको सशस्त्र प्रहरी बलमा एक एसपीका कारण दर्जनौंको करिअर प्रभावित बनेको छ ।

राजनीतिक पहुँच भएका एसपी दीपेन्द्र कुँवरका कारण एसएसपीका रिक्त पदमा कामु बढुवा हुन सकेको छैन । आठ महिनादेखि नै सशस्त्रमा एसएसपीका ११ पद रिक्त छन् । तर, रिक्त पदमा सिनियर एसपीहरुलाई कामु दिइएको छैन । अहिले कामु दिंदा एसपीको वरिष्ठताक्रमअनुसार दिनुपर्छ । त्यसो गर्दा एसपी कुँवर ११औं नम्बरमा बढुवा हुन्छन् । एसएसपीमा बढुवा हुन एसपी कुवँरको अवधि पुगिसकेको छैन । जसकारण अवधि पुगेपछि मात्र बढुवा गर्ने गरी उनकै कारण एसएसपीका ११ पद रिक्त हुन पुगेका छन् । जसले गर्दा १६ वर्षदेखि इन्सपेक्टरमै कार्यरत अधिकृतहरू समेत प्रभावित भएका छन् ।

एसपी कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका आफन्त पर्छन् । त्यही पावरका आधारमा यसअघि उनले सशस्त्रको स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि सेनामार्फत स्टाफ कलेज गर्ने अवसर पाएका थिए ।

सशस्त्र प्रहरी संगठन यस्तै पहुँचवालाहरुको कब्जामा पर्दै गएको छ । पछिल्लो समय गृह मन्त्रालय र बालुवाटारको छायाँमा शसस्त्र परेको छ । असइबाट बढुवा हुँदै माथिल्ला पदमा पुगेकाहरूले ६÷७ वटा गण चलाएर भ्रष्टाचार बढाए । नयाँ पुस्ताका एसपीहरू गणपति बनेपछि सुधार हुने आँकलन थियो, तर त्यस्तो देखिएन । उनीहरु पनि कमाउमै व्यस्त भए ।

एसपी भरत खनियाँलाई चार पटक कमान्ड दिइएको छ, उनकै ब्याच पावर नभएकाहरू एकपटक पनि इन्चार्ज हुन पाएका छ्र्रैनन् । कमजोर कार्यक्षमता भएका एसपी शंकर खनाललाई भैरहवा पठाइयो । कमल तिमिल्सिना नेतृत्वको बंगलामुखी कार्यदल, सुरेश सापकोटा नेतृत्वको महोत्तरीगणमा अनियमितता बढेको उजुरी आएपछि कारबाही हुन सकेको छैन । दक्षिणकाली गणमा प्रशस्त कमाएका एसपी किरण ढुंगाना अर्काे गणमा जाने चलखेलमा लागेका छन् । अकुत कमाइसकेका एसपी उद्धव न्यौपाने पनि कमाण्डबिना बस्न नसक्ने अधिकृतका रुपमा चिनिन्छन् ।

एकल सरुवा गरेर भैरहवाको डन्डा बिओपी पुगेका इन्सपेक्टर कृष्ण अर्याल कमाउनै व्यस्त छन् । इनर्बा बिओपी धनुषाका इन्पेक्टर शम्भु कटवालले तस्करीको लाइन चलाउँदा पनि डिआइजी मौन छन् ।

चलखेलमा माहिर होम ज्ञवालीलाई हालै एसपीमा एकल बढुवा गरियो । डिएसपीका ७० दरबन्दी खाली हुँदा पनि बढुवा हुन सकेको छैन । मोबाइल तस्करीमा संगठनलाई बदनाम गराई जेल बस्ने एसपी हर्क पन्त अनि गणमा बिद्रोह गराउने डिएसपी शेर बहादुर अधिकारिहरु गृह मन्त्रालयबाट पुरस्कृत भइरहेका छन् । यस्ता गतिविधिले सशस्त्र प्रहरीका इमान्दार अधिकृतको मनोबल खस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्