Logo
Logo

राप्रपा महाधिवेशन : पदाधिकारीमा दावीसहित मैदानमा रेखा थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।

राप्रपाले यो महाधिवेशनलाई ‘एकता महाधिवेशन’का रुपमा लिएको छ । हाल तीन अध्यक्ष रहेको राप्रपामा यो महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले महत्वका साथ लिइएको छ ।

राप्रपामा उपाध्यक्ष र महामन्त्रीपछि सहमहामन्त्री, सहायक महामन्त्री, प्रवक्ताहरू रहने व्यवस्था छ । यद्यपि, तिनीहरू प्रतिनिधिको भोटबाट नभइ अध्यक्षबाट मनोनित हुने व्यवस्था छ । राप्रपाको विधानअनुसार ७ जना सहमहामन्त्री र ७ जना सहायक महामन्त्री मनोनीत हुनेछन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनले १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् भने बाँकी मनोनीत हुनेछन् ।

यो महाधिवेशनमा वर्तमान तीन अध्यक्षमध्ये पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरिसकेका छन् । अध्यक्षमा कमल थापा र वर्तमान महामन्त्री राजेन्द्र लिङदेनको द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले आफूलाई बलियो दावी गर्दै आएका छन् ।

तर, राप्रपाको यस महाधिवेशनमा अन्य पदाधिकारीका आकांक्षीहरूसमेत लिङदेन पक्षमा देखिएका छन् । श्याम तिमल्सिना गोविन्दराज खनिया, मुकुन्दश्याम गिरी, विन्दु पौडेल, दुर्गा श्रेष्ठ, अभिनेत्री समेत रहेकी रेखा थापालगायतले पदाधिकारीको दावी गरेका छन् । उनीहरु लिङ्देनको पक्षमा रहेका छन् ।

अध्यक्षका आकांक्षी लिङ्देन निकट स्रोतका अनुसार अभिनेत्री रेखा थापा उपाध्यक्ष वा महामन्त्री बन्ने दौडमा छिन् । उनलाई पनि लिङ्देन समूहको समर्थन रहेको बताइन्छ ।

राप्रपाको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्