Logo
Logo

सुदुरपश्चिममा ‘फाइबर टू द होम’ सेवाको सहज पहुँच


252
Shares

धनगढी । सुदुरपश्चिममा नेपाल टेलिकमले उपलब्ध गराउन थालेको एफटिटिएच (फाइबर टू द होम) सेवाको सहज पहुँच हुन थालेको छ । कैलालीमा छोटो अवधिमा यो सेवा ६ हजारभन्दा बढी ग्राहकले लिएका छन् । यो सेवाअन्तर्गत ग्राहकको घरमा जडान हुने फाइबरको एउटै तारवाट तीनवटा सेवा एकसाथ प्राप्त गर्न सकिन्छ ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा उपलब्ध भइरहेको फाइबर तारसहितको यो सेवा नयाँ रहेको बताइएको छ । टेलिकमको धनगढीस्थित कार्यालयका प्रमुख सुरतबहादुर मल्लले यो सेवा लिनेहरूले फाइबरको एकै तारवाट तीव्र गतिको इन्टरनेट सेवाका साथै टेलिभिजन च्यानल र ल्यान्डलाइन फोनको सेवा एकसाथ प्राप्त गर्न सकिने बताए ।

हाल दिइरहेको सुस्त गतिको कपर नेटवर्क (एडिएसएल इन्टरनेट) सेवालाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यो सेवा टेलिकमको नेटवर्क भएका क्षेत्रमा धमाधम विस्तार भइरहेको छ । यो सेवाअन्तर्गत इन्टरनेट मात्रको पनि सुविधा लिन सकिने बताइएको छ । यस्तै इन्टरनेट र टिभी च्यानलको मात्र तथा इन्टरनेट, टिभी र ल्यान्डलाइन फोनको सेवा पनि लिन सकिन्छ ।

आगामी माघ १ गतेसम्मका लागि एफटिटिएचका तीनवटै सेवा एकसाथ लिन चाहने ग्राहकलाई वार्षिक न्यूनतम् १५ हजार ९ सय ८० रुपैयाँ शुल्क लाग्ने बताइएको छ । यस्तै इन्टरनेट र ल्यान्डलाइन फोनका लागि मात्र वार्षिक १० हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । इन्टरनेट सेवा मात्रका लागि योभन्दा कम शुल्क तोकिएको छ । प्रमुख मल्लले भने, ‘छोटो अवधिमा यो सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । वायरलाइन तारसहितको फोरजी सेवा भएकाले इन्टरनेट पनि तीव्र गतिमा चल्ने गर्छ ।’

प्रतिक्रिया दिनुहोस्