Logo
Logo
कांग्रेसको प्रदेश अधिवेशन

पौडेल पक्षद्वारा कर्णालीमा बहिष्कार, गण्डकीमा नाराबाजी



काठमाडौं । नेपाली कांग्रेको १४औं महाधिवेशनअन्तर्गत आज (बिहीबार)देखि सुरु भएको प्रदेश अधिवेशन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाएको छ ।

पौडेल पक्षले कर्णालीमा प्रदेश अधिवेशनको उद्घानट सत्र बहिष्कार गरेको छ भने गण्डकीमा नाराबाजी गरेको छ । सुर्खेतमा सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा आफूहरुलाई औपचारिक निमन्त्रणा नआएको भन्दै पौडेल समूह अनुपस्थित भएको हो ।

पौडेल समूहका एक नेताले भने, ‘हामीलाई अधिवेशनमा उपस्थित हुन कुनै खबर आएन, खबर नहुँदा हामी पौडेल समूहका नेताहरु अनुपस्थित भएका हौं ।’

यता गण्डकीमा भने उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

पौडेल पक्षका कार्यकर्ताले प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी शुल्कमाथि पनि प्रश्न उठाएका छन् । सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएकामा पनि पौडेल पक्षका नेता कार्यकर्ताले विरोध जनाएका छन् ।

आज एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु भएको छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ ।

कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ । प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन् । कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्