Logo
Logo
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन

पार्टीको मार्गदर्शक र नीति निर्माणमा केन्द्रित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसअघि माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलन गर्ने भएको छ ।

पालिका, वडा सम्मेलन गरिसकेको माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि आन्तरिक तयारी तिब्र बनाएको छ । माओवादीको अहिलेसम्म पार्टी सदस्य संख्या सात लाख छ हजार नाघेको छ । माओवादीले पार्टी सदस्य संख्या ८ लाख पुर्याउने योजना बनाएको छ ।

माओवादीले सफलता पुर्वक वडा तथा पालिका अधिवेशन देशभरी गर्दै नेतृत्व चयन पनि गरिसकेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । माओवादीले गत शनिबारबाट ७५३ वटा स्थानीय तहको पालिका सम्मेलनको आयोजना गरेको थियो । माओवादी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

पार्टी संगठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि माओवादीmले स्वीकार गरेको छ । सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसेको छ ।

माओवादी केन्द्रले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको छ । माओवादीले पाटीको विधान अनुसार निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

मार्गदर्शन र नीति निर्माणमा केन्द्रित हुने
माओवादीले राष्ट्रिय सम्मेलनलाई नीतिगत छलफलमा केन्द्रित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत बिहीबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई शक्ति प्रदर्शनभन्दा पनि पार्टीको आगामी मार्गदर्शन र नीति निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए ।

माओवादीले राष्ट्रिय सम्मेलन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने भएको छ । सम्मेलनको उद्घाटन र बन्दसत्र प्रज्ञा प्रतिष्ठानकै भवनमा हुने छ ।

सम्मेलनमा २ हजारसम्म प्रतिनिधिहरु सहभागी गराउने माओवादी केन्द्रको तयारी छ । ३ दिनसम्म चल्ने सम्मेलनले पार्टीको आगामी नीति पारित गर्नेछ । सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने छन् । राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेज लेख्ने तयारमा छन् ।

विधान परिमार्जन गर्न कार्यदल गठन
माओवादी केन्द्रले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । स्थायी कमिटीको शुक्रबार बसेको बैठकले देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल गठन गरेको हो ।

माओवादी प्रवक्ता महराले कार्यदलमा पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको जानकारी दिए । कार्यदलले मंसिर २५ गतेसम्म विधान मस्यौदा प्रस्ताव गर्नेछ ।

माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

माओवादीले १५ सय संगठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।

माओवादीको स्थायी समिति बैठक पश्चात अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरुको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाउँन उल्लेख गरिएको छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन भएको छ । त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ ।

प्रदेशले कम्तिमा १ जना घाइते/अपाङ्गहरुलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ । प्रत्येक प्रदेशले २३ मंसिर भित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने माओवादीको सर्कुलरमा उल्लेख छ ।

सांगठानिक संरचना
माओवादीको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव पदाधिकारी सहित २ सय ९९ जना सदस्य रहने विधानमा उल्लेख छ ।

केन्द्रीय समितिको एक तिहाई हुने गरी पोलिटव्युरो समिति र त्यसको एक तिहाई हुने गरी स्थायी समिति गठन हुने व्यवस्था माओवादी केन्द्रको विधानमा उल्लेख गरिएको छ ।

त्यस्तै माओवादीको दैनिक कार्यसंचालनका लागि पार्टी अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय गठन गर्नेछ । यसैगरी दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा सचिव र कोषाध्यक्षसहितको आवश्यक संख्याको एक केन्द्रीय सचिवालय गठन हुनेछ ।

यस्तै महाधिवेशनबाट निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग गठन हुनेछ । आयोगहरु अध्यक्ष र सचिव सहित १५ सदस्यीय हुनेछ । आयोगको अध्यक्ष स्थायीय समिति सदस्य सरह र सचिव तथा सदस्यको योग्यता केन्द्रीय सदस्य सो सरह हुनेछ ।

त्यस्तै विधानमा उल्लेख गरे अनुसार पार्टीका जिल्लामा कार्यरत प्रदेश समितका सदस्यहरु, नगर र गाउँपार्टी समितका अध्यक्षहरु पार्टीका तर्फबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदहरु पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखरु, पार्टी प्रदेश समितिले मनोनित गरेका बढीमा १० प्रतिशत सदस्यहरु रहेको जिल्ला समन्वय समिति रहने व्यवस्था छ । त्यस्तै माओवादीको प्रदेश समितिमा एक सय ७५ जना सदस्य हुनेछन् । जस अन्तर्गत प्रदेश, विशेष समिति, सम्पर्क समन्वय समिति रहने विधानमा उल्लेख छ ।

त्यस्तै प्रदेश समिति अन्तर्गत प्रदेश परिषद् रहने व्यवस्था छ । जस अन्तर्गत प्रदेश समितिका पदाधिकारी र सदस्यहरु प्रदेश सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरु, पार्टीका जिल्ला समन्वय समितिका संयोजकहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, प्रदेश विभागका सचिवहरु, पार्टी सम्बद्ध जनबर्गीय पेशागत मोर्चा तथा अन्य सामाजिक संगठनका प्रदेश अध्यक्ष संयोजक वा प्रमुखहरु रहनेछन् । त्यस्तै पार्टीका नगर गाउँ समितिका अध्यक्षहरु, नगर गाउँपालिका प्रमुखहरु र उपयुक्त पदेन सदस्य संख्याको १० प्रतिशत भन्दा बढी नहुनेगरी प्रदेश समितिबाट मनोनित सदस्यहरु रहने व्यवस्था विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्