Logo
Logo

प्रभुको व्यञ्जना



अनन्त संयोजन
प्रत्येक संयोजन मौलिक छ
प्रभुको व्यञ्जना

यात्राको सुन्दरता
प्रकृतिसँगको समागम
सपना साँचेका मुटुहरू
स्पन्दित हुँदाको आवाज
पल्लवित भएको लता
एउटा सुन्दर संयोजन
रम्ने रमाउने जिन्दगीको

व्यञ्जना प्रभुको अनन्त
त्यति नै विविध
सबै मिठो भन्ने हुँदैन
सबै नमिठो पनि छैन
स्वाद आफ्नो आफ्नो हुन्छ
धुन मिल्यो भने, स्वाद मिल्यो भने
यात्रामा चिनिएको स्वरूपहरू
कुनै सुन्दर देखिन्छन्
कुनै नराम्रो बन्छन्
यसरी ‘आहा’ र ‘उह्’ निस्किन्छ

कसैको अनुहार देख्ने बित्तिकै
बोल्ने चाह आउँछ
कसैको देख्ने बित्तिकै
रिस उठेर आउँछ
रिसाउनु पर्ने उसले के गरेको छ र ?
केही पनि छैन
उ त आफ्नो बाटो हिँडिरहेको छ
उसले त त्यो अर्कोलाई देखेकै छैन

सृष्टिको रचना नै यस्तै छ
अहम्लाई जेले तुष्टि दिन्छ
त्यो व्यञ्जना राम्रो हुन्छ
जसले दिन सक्तैन
या जो कनाउन चाहँदैन
उसको बारे नमिठो कथा बुनिन्छ
मुलुकको व्यथा जोडिन्छ
यस्तै नै छ –
प्रभुको अनन्त व्यञ्जना

प्रतिक्रिया दिनुहोस्