काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका ६० जना फिर्ता लिएका छन् । शनिबार मनोनय दर्ता गरेका एक सभापतिका उम्मेदवारसहित ६० जनाले फिर्ता लिएको महाधिवेशन निर्वाचन समितिले जनाएको हो ।
निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधि दिएको थियो । निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएप्छि शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरीलाई सघाउने बताएका छन् ।
शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । अब सभापतिमा ५ जनाबीच भिडन्त हुनेछ । जसअनुसार कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवा प्रतिस्पर्धामा रहने निश्चित भएको छ ।