Logo
Logo

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज हुने


0
Shares

काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबीच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ। नेपालका विभिन्न भागमा यात्रा गर्दा सञ्चारको महत्वपूर्ण आवश्यकतालाई यसले सम्बोधन गर्छ।

साझेदारीअन्तर्गत एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएका आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझ एनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्ध गराउने छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, ‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास लिएका छौं । यति मात्र होइन, यो साझेदारीले ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्द्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

‘पर्यटनको मर्म भनेकै एक अर्कासँग जोडिनु हो। मानिसहरूलाई मानिसहरूसँग जोड्नु, संस्कृति अनि अनुभवहरूलाई जोड्नु हो। नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामी उत्साहित छौँ,’ नाटोका अध्यक्ष श्रेष्ठले भने।

दूरसञ्चार सेवामात्र नभएर, एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर० अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न सहयोग गर्नेछ। यसको सुरुवात धादिङ जिल्लाको गजुरीबाट पाइलट परियोजनाका रूपमा हुनेछ।

यस पहलले यी मार्गहरूमा यात्रा गर्ने पर्यटक र स्थानीय समुदायलगायत सबैको सुविधाको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दछ र साथै दुवै संस्थाको नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रति साझा प्रतिबद्धता रहेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्