Logo
Logo

विवादमा मुछिए अमेरिकी राजदूत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।
नेपालका लागि अमेरिकी राजदूत रेन्डि वेरी विवादमा परेका छन् । सामाजिक सञ्जालमा सर्वसाधरणसँग गर्न लागेको अन्र्तक्रिया विवाद निम्त्याएको हो ।
त्यस्तो अन्र्तक्रिया कुटनीतिक मर्यादा विपरीत भएको भन्दै परराष्ट्र मन्त्रालयले नगर्न निर्देशन दिइसकेको छ । सानो देश भनेर अमेरिकाले नेपालमा हेपाईको व्यवहार गर्न खोजेको कुटनीतिज्ञहरु बताउँछन् ।


राजदूत एक भिडियो सन्देस सहित नेपाली नागरिक र समाजसँग प्रत्यक्ष संवाद गर्न लागेको भन्दै योजना सार्वजनिक गरे थिए। वेरीले सोमबार मात्र फेसवुक र ट्वीटरमा ’राजदूतसँग गफगाफ’ गर्न लागेको भन्दै भिडियो पोष्ट गरेका छन्। यो नेपाली स्थित अमेरिकी दूतावासको सामाजिक सञ्जालका ४० लाख फलोवर्ससँग साप्ताहिकरुपमा गरिने ’गफगाफ’ भएको दूतावासले जनाएको छ।

दूतावासले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोबारे विभिन्न प्रतिक्रियाहरु आएका छन्। केहीले यसलाई गैर कूटनीतिक भनेका छन् ।
परराष्ट्र सचिव शंकर वैरागीले दूतावासको कार्यक्रमबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन्। राजदूतहरुले सम्वन्धित सरकारको अनुमति विना यस्ता कार्यक्रम गर्ने अभ्यास नभएको उनले बताए।

पूर्व शिष्टाचार माहापाल गोपाल थापाले राजदूतको यस्तो अभ्यास भियाना महासन्धी विपरित हुने प्रतिक्रिया दिएका छन्। अर्का पूर्व शिष्टाचार माहापाल रामभक्त ठाकुरले फेसवकुमा भनेका छन् ’अमेरिकी राजदूतलाई यस्तो नगर्न सल्लाह दिनु पर्छ। यो अवाञ्छनिय र गैरकुटनीतिक हुन्छ।’
अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डे अरमेन्ट यो जनस्तरको कुटनीति भएको र राजदूतले प्रश्नको उत्तर र सूचना दिने बताएकी छन्। युवाहरुलाई लक्षित गरेको यस्तो कार्यक्रम ल्याइएको जनाइएको छ।
पछिल्लो समय अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्ध राम्रो हुन सकेको छैन । अमेरिकाको स्वार्थमा काम नगरेको भन्दै उसले नेपाललाई खुलेर सहयोग गरेको छैन ।
भेनेजुयला प्रकरणदेखि नै नेपाल र अमेरिकाबीच विवाद बढेको हो । अध्यागमनमा समेत उसले आफ्नो सफ्टवेयर जडान गर्न दबाब दिदै आएको छ । उत्तर कोरियासँग सम्बन्ध नराख्न तथा चीनसँग धेरै घुसमिल नहुन अमेरिकाले अप्रत्यक्ष रुपमा दबाब दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्