Logo
Logo
सफलता

तीन लाखबाट व्यावसाय सुरु, तीन दशकमा तीन अर्बका मालिक




काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर एशोसिएसन (नाडा)को ४५औँ साधारणसभाले पोखराका ध्रुवबहादुर थापालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । धेरैले सोचेका थिए करण चौधरीसँग धेरै पैसा छ, धेरै प्रोक्सी मत किनेको छ, त्यसैले यसपटक नाडाको नेतृत्व चौधरीको हातमा जानेछ । तर, त्यो सोचलाई निर्वाचन परिणामले गलत ठह¥यायो । नाडामा इमान्दार मतदाता पनि छन्, उनीहरुले सत्यको मार्ग भुल्दैनन् भन्ने कुरा थापालाई विजयी गराएर प्रमाणित गरिदिए ।

५१ वर्षका थापाले आजभन्दा तीन दशक अगाडि पोखराको नयाँबजारमा सानो अटोमोबाइलको बिक्रीकक्ष खोलेर दुईवटा मोटरसाइकल बिक्री गरेर आफ्नो व्यवसाय सुरु गरेका थिए । तीन लाख पूँजीबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थापा यहाँसम्म आइपुग्दा तीन अर्ब सम्पत्तिको मालिक बनेका छन् ।

इमान्दार स्वभावका उनीले निर्वाचन पद्धति नेतृत्वमा पुग्ने लोकतान्त्रिक विधि भए पनि सबैलाई समेटेर जानु अझ बढी लोकतान्त्रिक विधि र पद्धति भएको बताउँछन् । हालै सम्पन्न नाडाको साधारणसभाको निर्वाचन परिणामले उनको समूहभन्दा बढी चौधरी समूहबाट सदस्यका उम्मेदवार विजयी भएका छन् ।

यस्तो स्थितिमा आफ्नो सफल कार्यकालको योजना के बनाउनुभएको छ भन्ने दृष्टिको एक प्रश्नको जवाफमा थापा भन्नुहुन्छ– संगठनको सुदृढीकरण नै मेरो पहिलो प्राथमिकता हो । त्यसका लागि आफूले सदस्यताको मापदण्ड, ठूला साना अटोमोबाइल व्यवसायीको समस्याको पहिचान, एकीकृत सूचना प्रणालीको विकास, विद्युतीय सवारी साधनलाई प्रोत्साहन, एसम्बल उद्योगका लागि दीर्घकालीन नीति र योजना बनाउनुपर्ने कुरामा जोड दिन्छु । त्यसका लागि सरकारलाई दबाब दिन्छु । किनभने, मन्त्रीहरु हावादारी गफ गर्दै हिँड्छन् ।

विद्युतीय सवारी साधन एसेम्बल उद्योग खोल्न आह्वान त गर्छन् तर, वातावरण बनाइदिँदैनन् । एउटा एसेम्बल प्लान्ट राख्न डेढ÷दुई अर्बको पूँजीले पुग्दैन । पूँजी लगानीको ग्यारेन्टी गर्न सरकारको दीर्घकालीन योजना नीति चाहिन्छ ।

संगठनको सुदृढीकरण कहाँबाट सुरु गर्ने योजना छ त भन्ने अर्को एक प्रश्नको जवाफमा थापा भन्नुहुन्छ– अब हामीले नक्कली प्रोक्सी संकलन गर्ने काम बन्द गर्नुपर्छ । सबै सदस्यले ‘अनलाइन भोटिङ’को माध्यमबाट प्रोक्सी मत दिए भने संगठन सुदृढीकरण सफल हुन्छ । धेरै पूर्वअध्यक्षहरुको चिन्ता पनि नाडा सुदृढीकरण नै हो । त्यसका लागि पूर्वअध्यक्षहरुले यसपटक पनि सर्वसम्मत नेतृत्वको प्रयास गर्नुभएको थियो । तर, सफल हुन सकेन ।

साना ठूला व्यवसायीको समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा कस्तो धारणा छ ? भन्ने प्रश्नको जवाफमा थापा भन्छन्– वस्तुको मूल्यभन्दा भन्सार महसुल बढी भएकोले धेरै मर्का परेको छ । जसले गर्दा चोरी पैठारी वृद्धि भएको छ । यस्ता विषयमा भन्सार विभागले ध्यान दिनुपर्छ । अर्कोतर्फ गाडी आयात गर्ने कम्पनी र डिलरबीच पनि समस्या छ, त्यसको पनि समाधान खोज्नुपर्छ ।

विद्युतीय सवारी साधनलाई प्राथमिकता दिन पूर्वाधारमा जोड दिनुपर्छ । देशैभरि चार्जिङ स्टेशन निर्माण गर्नुपर्छ । विद्युतीय सवारी साधनको प्रयोगले व्यापार घाटा कम गराउँछ । अबको विश्व नै विद्युतीय सवारी साधनमा केन्द्रित भएकोले अहिलेदेखि पूर्वाधार बनाउँदै जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्