Logo
Logo
कला

‘भूमिकामा समस्या छैन, जस्तो पनि गर्छु’



आवाज सुनेर पनि नचिनिएको हुन सक्छिन् साक्षी लम्साल । साक्षीको आवाज दर्जनौँ रेडियो तथा टिभी जिंगलहरू सुन्न सकिन्छ । विभिन्न विज्ञापनमा ‘भ्वाइस ओभर’ गर्दागर्दै मोडलिङ र अभिनयमा प्रवेश गरेकी साक्षीसँग टेलिभिजन कार्यक्रम प्रस्तोताको समेत अनुभव छ । कान्तिपुर र जनता टेलिभिजनमा दुई वर्ष कार्यक्रम प्रस्तोताको रुपमा काम गरेकी साक्षी मोडलिङलाई रहर र सोखका रुपमा मात्र लिन्छिन् । उनी भन्छिन्, ‘मोडलिङमा करिअर देख्दिनँ, त्यसैले सोख र रहरका रूपमा मात्र लिएकी छु ।’ तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, सर्ट फिल्म र उति नै संख्यामा विज्ञापनका जिंगलहरूमा ‘भ्वाइस ओभर’ गरिसकेकी ललितपुर, भैँसेपाटीकी २५ वर्षीया साक्षी पछिल्लो समय एक वित्तीय कम्पनीमा ‘फुलटाइमर’ जागिरे छिन् । उनै मोडल साक्षीसँग दृष्टिको जम्काभेट :

तपाइँ आफूलाई कसरी चिनाउनुहुन्छ ?

हिजोआज मोडलकै रुपमा चिनाउने गरेकी छु । कलाकारिता मैले रेडियो जिंगलमा ‘भ्वाइस ओभर’बाट सुरु गरेकी हुँ । अहिले भ्वाइस ओभरसँगै आफैँ मोडलिङ पनि गर्छु ।

प्राथमिकता कुनलाई दिनुभएको छ ?

यसैलाई भन्ने छैन । भ्वाइस ओभर पनि गर्दै आएकी छु । म्युजिक भिडियो र विज्ञापनहरूमा पनि मोडलिङ गर्दै आएकी छु । पाएको र भ्याएसम्म सबै गर्दै आएकी छु ।

तपाइँलाई चिन्ने त मोडलबाटै हो नि ?
–चिन्नेहरूले मोडल नै भन्छन् । भ्वाइस ओभरमा आवाज मात्र सुन्ने भएकाले चिन्दैनन् । कतिपयले टेलिभिजन प्रस्तोताका रुपमा चिन्छन् किनकि, मैले जनता टेलिभिजनमा दुई वर्ष प्रिजेन्टरको रुपमा काम गरेँ । त्यसपछि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘रजतपट’ कार्यक्रम एक वर्ष चलाएँ ।

मोडलिङ सुरु गर्नुभएको कति भयो ?

२०७३ सालदेखि हो । मैले विज्ञापनबाटै मोडलिङ सुरु गरेकी हुँ । त्यसपछि म्युजिक भिडियो गर्न थालेँ । सुरुमा म्युजिक भिडियोहरू छनोट गरेर मात्र गर्थे । त्यसैले भिडियो खाशै धेरै गरेकी छैन ।

अहिलेसम्ममा कति म्युजिक भिडियो गर्नुभयो ?

तीन दर्जनभन्दा बढी भयो । अफर आएजति सबै गरेको भए ५०÷६० वटा पुग्थ्यो होला । तर, मैले सेलेक्टेड मात्र गरेँ । हिजो आज हातमा आएका सबै काम गर्ने प्रयास गर्दै आएकी छु ।

तपाइँले ‘भ्वाइस ओभर’मा बढी प्रसारण भएको विज्ञापन कुन हो ?

एभेष्ट बैंकको ‘स्मार्ट नारी’ योजनाको विज्ञापन हो । यो विज्ञापन टिभी र रेडियोमा भन्दा युट्युब र फेसबुक पेजहरूमा धेरै आइरहेको छ ।

म्युजिक भिडियोमा को–को पुरुष मोडलसँग स्क्रिन सेयर गर्नुभएको छ ?

–म्युजिक भिडियोमा चलेका प्रायः सबै मोडलसँग स्क्रिन सेयर गरेकी छु । पल शाह, अमित बराल, निराजन प्रधान र नरेश भट्टराईसँग पनि स्क्रिन सेयर गरेकी छु । निराजनसँग चाहिँ विज्ञापनमा गरेकी हुँ ।

मोडलिङमा करिअर देख्नुहुन्छ ?

देख्दिनँ । त्यसैले मोडलिङलाई सोखका रुपमा मात्र लिएकी छु । मलाई सानैदेखि कलाकारिता मन पथ्र्यो । रहर र सोख पूरा गर्न मात्र मोडलिङ गर्दै आएकी हुँ । मोडलिङबाहेक जब गर्छु ।

फिल्ममा प्रस्ताव आयो भने गर्नुहुन्छ ?

मैले चार वर्षअघि नै एउटा फिल्ममा काम गरिसकेकी छु । अहिले पनि अफरहरू आइरहेका छन् । तर, चित्तबुझ्दो आउँदैन । त्यसैले गरेकी छैन । यसअघि मैले रामकृष्ण बजगाइँको ‘मेरो गाउँ’ नामको फिल्म गरेकी हुँ । तर, त्यो चलेन ।

कस्तो फिल्मका अफर आए गर्नुहुन्छ ?

अब सेलेक्ट गर्दिनँ । मुख्य कुरा ब्यानर, टिम र स्टोरी राम्रो हुनुपर्छ । जस्तो भूमिका पनि गर्न तयार छु । मैले बज्यूदेखि नातिनीसम्मको भूमिका निर्वाह गरिसकेकी छु । त्यसैले मलाई भूमिकामा कुनै समस्या छैन ।

हिजोआज के गर्दै हुनुहुन्छ ?

विज्ञापन र म्युजिक भिडियोहरू गर्दै आएकी छु । अफिस जान्छु । काम आएको बेला बिदा लिएर मोडलिङ गर्छु । केही समयअघि मात्र भारतीय प्रोजेक्टमा तीन भाषामा एउटा सर्ट फिल्म गरेकी छु । नामाङकन उनीहरूले गर्ने भएकाले नाम राखिएको छैन ।

आफूले रोजेको क्षेत्रबाट खुसी हुनुहुन्छ ?

आफूले चाहेको क्षेत्रमा सधैँ खुसी मिल्दोेरहेछ । नयाँ–नयाँ कुरा सिक्न पाएकी छु । साथीहरू बनाउन पाएकी छु । अडियन्सको माया पाएकै छु । यी सब कुराले म खुसी छु ।

पुरुषको प्रेमचाहिँ पाउनुभएको छ कि छैन ?

एउटी केटी मान्छेलाई प्रेम प्रस्ताव नआउने भन्ने कुरै हुँदैन । थुप्रै प्रेम प्रस्तावहरू आइरहेको हुन्छ । तर, यो मेरो करिअर बनाउने समय हो । त्यसैले अहिलेसम्म प्रेमको बन्धनमा परेकी छैन ।

प्रतिक्रिया दिनुहोस्