Logo
Logo

आज उधौली पर्व र योमरी पूर्णिमा, सार्वजनिक बिदा



काठमाडौं । आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ ।

यस्तै किराँत समुदायको उधौली पर्व आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भएको हो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ ।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै आएका छन् ।

लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ ।

सरकारले उधौली र योमरी पूर्णिमाको अवसरमा आज पर्व मनाउने समुदायका लागि र काठमाडौंमा सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्