Logo
Logo

कैलालीमा दास हत्या प्रकरण : हत्यापछिको फोन रेकर्ड सार्वजनिक



धनगढी । कौलालीमा एकपछि अर्को गरी अपराधिक गतिविधि बढ्दै गएको छ । भूपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै फेरि एक युवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शनिबार शव फेला परेको थियो । दासको विभत्स हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड आइतबार सार्वजनिक भएको छ ।

उक्त संवाद युवकको हत्यापछि फोनमा गरिएको हो । अडियो रेकर्डमा आफूलाई मनोज नामले चिनाएका युवकले अर्का व्यक्तिसंग घटनाको बारेमा कुरा गरेका छन् । उनले घाँटी र शरीर अलग पारेको भन्दै भनेका छन्– ‘दाई उसको घाँटी अलग छ । शरीर अलग छ । एक÷दुई दिनभित्र थाहा पाइहाल्नु हुन्छ । म यहाँ कहाँ पुगिसकँे, कहाँ पुगिसकेँ ।’

आफू नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि उनले फोनमा भनेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीले पनि हत्यापछिको अडियो रेकर्ड प्राप्त भएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गएको २३ कार्तिकमा लम्कीचुहा नगरपालिका– ३ का २३ वर्षीय भूपेन्द्र बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । कैलालीमा एकपछि अर्को हत्या हुन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

कुकुरसहितको टोली अनुसन्धानमा

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले हत्याको थप अनुसन्धान भइरहरेको बताए । उनले भने, ‘युवाको घाँटी रेटेर विभत्स हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटेको देखिन्ट । थप अनुसन्धानका लागि कुकुरसहितको टोली खटाइएको छ ।’

घाँटी रेटेर शरीरबाट टाउको अलग गरिएको अवस्थामा उनको शव स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपरिक्षक अधिकारीले जानकारी दिए ।

रुखको फेदमा बाँधेर नग्न बनाउँदै धारिलो हतियारले घाँटी छिनालिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल जङ्गलभित्र बाटोबाट ५ सय मिटरभित्र रहेको छ ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेश अनुसन्धान समूहको टोली र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्