Logo
Logo

मुख्य नेतृत्वका कारण माओवादीमा झमेलै झमेला, १० मध्ये ४ प्रदेशमा मात्र नेतृत्व



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भौगोलिक सात र गैरभौगोलिक तीन गरी १० प्रदेशको सम्मेलन सम्पन्न गरिसकेको छ ।
राष्ट्रिय सम्मेलन लक्षित सात प्रदेश अन्तर्गत प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सम्मेलन एकैदिन उद्घाटन भयो । त्यसैगरी गैरभौगोलिक प्रदेश अन्र्तगतका उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र प्रवास प्रदेश समितिको पनि सोही दिन उद्घाटन भयो ।

धुमधामका साथ सबै प्रदेशले सम्मेलन उद्घाटन गरे । तर, थोरै प्रदेशले मात्र नेतृत्व चयन गरेका छन् । अधिकांश प्रदेशमा आकांक्षी धेरै हुँदा सहमतिका आधारमा नेतृत्व चयन गर्न कठिन हुँदै गएको छ ।

गत शनिबारबाट सुरु भएको प्रदेश सम्मेलनबाट माओवादीले उपत्यका विशेष प्रदेश, उपत्यका सम्पर्क समन्वय प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा अध्यक्षसहितको समिति सदस्य चयन गरिसकेको छ । तर, पदाधिकारी भने उपत्यका विशेष प्रदेशले मात्रै टुंगो लगाएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बाँकी ६ प्रदेशमा मतदानबाट नेतृत्व चयन हुँदै
माओवादी केन्द्रले पार्टीका सबै तह र जनवर्गीय संगठनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने नीति अवलम्बन गरेको छ ।
तर, नेतृत्वका आकांक्षी धेरै भएका कारण अधिकांश प्रदेशमा सहमतिको आधारमा नेतृत्व चयन हुने सम्भावना कम हुँदै गएको छ ।
सहमतिको आधारमा नेतृत्व चयनको सम्भावना कम हुँदै गएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै चुनावी प्रकृयाबाट नेतृत्व चुन्न निर्देशन दिइसकेका छन् ।

प्रदेश १ का को-को प्रतिस्पर्धी ?
माओवादी केन्द्रको प्रदेश १ ले आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको छैन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेको छ । तर पदाधिकारी चयन भने थाती राखेको थियो ।

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनबहादुर खत्री, झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले प्रदेश अध्यक्षमा दाबी गरेका छन् ।

प्रदेश २ को अवस्था पनि उस्तै
माओवादी केन्द्रले प्रदेश नम्बर २ मा सर्वसहमतिमै २७१ जनाको प्रदेश समिति चयन गरेरको छ । तर अध्यक्ष र पदाधिकारी चुन्न सकेको छैन । प्रदेश २ मा पनि अध्यक्ष र पदाधिकारीको आकाँक्षी धेरै भएकाले सहमतिको प्रयास जारी छ । पहिलो चरणमा सहमतिको प्रयाग गरिने र उक्त प्रयासमा सफल हुन नसके मतदान प्रकृयाबाटै नेतृत्व चयन गरिने एक नेताले बताए ।

बागमतीमा को-को प्रतिस्पर्धामा ?
माओवादीको विधानअनुसार हरेक सम्मलेनले सिंगो समिति मात्र चयन गर्छ । उक्त समितिको बैठकले अध्यक्ष तथा पदाधिकारी चयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बागमती प्रदेशको सम्मेलनले पनि दुई सय ४५ सदस्यीय प्रदेश कमिटी मात्र चयन गरेको छ ।

आकांक्षी धेरै भएका कारण पदाधिकारी चयन गर्न सकेको छैन । यहाँ पनि मतदानबाटै निर्वाचन नेतृत्व चयन हुने भएको छ । बागमतीमा सरल सहयात्री, दीनानाथ गौतममध्ये एक केही समयमै अध्यक्ष निर्वाचित हुँदैछन् ।

सुदूरपश्चिममा राष्ट्रिय सम्मेलनपछि मात्र नेतृत्व चयन
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा पनि २२३ सदस्यीय प्रदेश समिति मात्र गठन गरेको छ । पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन । आकांक्षी धेरै भएका कारण सुदूरपश्चिमले पार्टीेको राष्ट्रिय सम्मेलनपछि मात्र नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

सुदुरपश्चिम प्रदेशका माओवादी नेता मिनबहादुर कँवरका अनुसार अध्यक्ष र पदाधिकारीमा सहमति जुट्न नसकेपछि सम्मेलनले कार्यसमिति मात्रै चयन गरेको बताए । यहाँ पनि मतदानबाटै नेतृत्व चयन हुने सम्भावना बढेको छ ।

लुम्बिनी प्रदेशमा पनि झमेला
माओवादीले लुम्बिनी प्रदेशमा पनि नेतृत्व चयन गर्न सकेको छैन । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश सम्मेलनले २ सय २७ जना सदस्य समिति गठन गरे पनि अध्यक्षसहितका पदाधिकारी भने टुंग्याउन बाँकी छ । यसअिघ समितिको अध्यक्षमा सुदरर्शन बराल मगर चयन भएको भनिए पनि आधिकारिक रुपमा भने अध्यक्षसहितका पदाधिकारी चयन गर्न बाँकी नै रहेको छ । प्रदेश समितिका अन्य पदाधिकारी भने टुंगो लगाउन छलफल चलिरहेको नेता मगरले बताए ।

कुन–कुन प्रदेशले पायो नेतृत्व ?
माओवादी केन्द्रले उपत्यका विशेष समितिमा जगत सिंखडाको अध्यक्षतामा १४१ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण केसी, संगीता खड्का, प्रकाश पाण्डे, सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका छन् ।

त्यस्तै सम्पर्क समन्वय समितिको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन भएका छन् । पदाधिकारी भने टंग्याउन बाँकी छ । त्यस्तै, गण्डकी प्रदेशमा गायत्री गुरुङको अध्यक्षतामा २०१ प्रदेश समिति गठन भएको छ । गण्डकी प्रदेश सम्मेलनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने टुंगो लगाउन सकेको छैन । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने तयारी छ ।

त्यसैगरी, कर्णाली प्रदेश सम्मेलनबाट विमला केसीको अध्यक्षमा २११ सदस्यीय समिति गठन गरिएको छ । पदाधिकारीको आकांक्षी धेरै भएकाले अध्यक्ष र २११ सदस्यीय समिति मात्रै सम्मेलनले चयन गरेको हो । अब बस्ने पहिलो बैठकले बाँकी पदाधिकारी चयन गर्ने नेता रामदीप आचार्यले जानकारी दिए ।

नेतृत्तका कारण प्रदेशहरु झमेलामा
माओवादीमा मतदान प्रकृयाबाट नेतृत्व चयन गर्नुपर्ने ब्यापक माग हुँदै आएको छ । तर, मुख्य नेतृत्वले भने कुनै पनि कमिटीमा मतदान गर्न चाहेको छैन । सकेसम्म केन्द्रीयता लादेरै भए पनि सहमतिमै नेतृत्व चुन्ने मुख्य नेतृत्वको नीति रहेको छ ।

सोही नीतिका कारण प्रदेश समितिहरुले सम्मेलन सम्पन्न भएको यतिका दिनमा पनि नेतृत्व चयन गर्न नसकेको हो । तर, अध्यक्ष प्रचण्डले भने विज्ञप्ति नै प्रकाशित गरेर प्रदेशहरुमा नेतृत्व चयका लागि मुख्य नेतृत्व चयन गर्न दवाव नदिएका स्पष्टीकरण दिएका छन् ।

माओवादी केन्दकोे राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म संघीय राजधानीमा हुँदैछ । यसका लागि माओवादीले गत मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरिसकेको छ । वडा सम्मेलन हुँदै पालिका सम्मेलन सकेर माओवादीले गत शनिबारबाट प्रदेश सम्मेलन सुरु गरेको हो ।

माअ‍ोवादी केन्द्रले राष्ट्रिय सम्मेलनमार्फत आगामी कार्यदिशा निर्माण गर्ने भएको छ । अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनपछि नयाँ विचार, नयाँ संगठनसहितको पार्टी बन्ने र आगामी निर्वाचनमा पहिलो पार्टी बनेर देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्