Logo
Logo

प्रथम पञ्चवर्षीय योजनाको अवधारणा स्वीकृत



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा पत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विहीबार बसेको मन्त्री परिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणा पत्रलाई स्वीकृत दिएको हो ।

प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताए ।

त्यसैगरी मन्त्रिपरिषदले सुदूरपश्चिम प्रदेशका दुई स्थानीयका तहमा दुई वडा विभाजन गरेर वडा थप गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ’ मन्त्री जोशीले भने ।

रामारोशन गाउँपालिकामा अहिले सात वडा रहेको छ । सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने नौ वटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने छ ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा पेस भएको अस्थायी रूपमा कर्मचारी दरबन्दी र फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा सम्बन्धमा पनि निर्णय भएको छ ।

प्रदेश सरकारले केही महिनाअघि सञ्चालनमा ल्याएको प्रदेश राजपत्र छापाखानामा अस्थायी रूपमा कर्मचारी दरबन्दीका लागि निर्णय गरेको मन्त्री जोशीले बताए । ‘छापाखानामा एक कार्यालय सहयोगी, प्राविधिकसहित तीन जना कर्मचारी अस्थायी रूपमा भर्ना गरिने छ’ उनले भने ।

यस्तै, प्रदेशमा रहेका फर्महरू नवीकरण नभएकाले उनीहरूको म्याद थप गरी पाँच प्रतिशत जरिवाना राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्