Logo
Logo

धुलिखेलमा ४० वर्षमाथिका नागरिकको पिसाब परीक्षण गरिँदै


रासस


काभ्रेपलाञ्चोक । ‘स्वस्थ नगर’ अभियानअन्तर्गत धुलिखेल नगरपालिकाका ४० वर्ष नाघेका सबै नागरिकको पिसाब परीक्षण गरिने भएको छ । समुदायस्तरमा मधुमेह र मिर्गौलाको अवस्था तथा रोग पत्ता लगाउन निःशुल्क पिसाब परीक्षण गर्न लागिएको जनाइएको छ ।

संघीय सरकारले पनि गत असोजमा ४० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क पिसाब परीक्षण गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभरका सबै वडामा पुगेर उनीहरुको पिसाब जाँचिने जनाएको थियो ।

केन्द्रीय सरकारको अभियानपूर्व नै धुलिखेल नगरले आफ्ना नागरिकको पिसाब परीक्षण गर्न लागेको हो । मिर्गौला रोगबाट बचाउनुपूर्व रोकथामका लागि नागरिकको पिसाब परीक्षण गर्न लागिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए ।

यही पुस १५ गतदेखि अभियानकारुपमै प्रारम्भिक चरणका एक हजार २०० नागरिकको पिसाब परीक्षण गरिने नगर स्वास्थ्य शाखाप्रमुख सन्दिप केसीले जानकारी दिए । उनका अनुसार नगरद्वारा सञ्चालित स्वस्थ शहर कार्यक्रअन्तर्गत यहाँका ४० वर्ष उमेरमाथिका नागरिकको पिसाब निःशुल्करुपमा परीक्षण गर्न लागिएको हो । यसबाट समुदायस्तरमा रहेका नागरिकको मधुमेह र मिर्गौलाको अवस्था पत्ता लाग्ने जनाइएको छ ।

केन्द्रीय सरकारले करिब तीन महिनाअघि नै उक्त निर्णय गरेको थियो । मन्त्रालयका अनुसार नेपालमा ४० वर्षमाथिको जनसङ्ख्या ६५ लाख ३७ हजार रहेको छ । मिर्गौला रोगबाट बचाउनुपूर्व रोकथामका लागि गर्न लागिएको पिसाब परीक्षणका लागि प्रतिव्यक्ति रु ५० का दरले रु ३२ करोड ६८ लाख ६६ हजार ४५० लाग्ने जनाइएको छ । बेलैमा ध्यान दिए नसर्ने रोगबाट बच्ने र बचावटको उपाय सस्तो रहेकाले मिर्गौला रोगबाट जोगाउन पिसाब जाँचको तयारी भइरहेको मन्त्रालयले जनाएको हो ।

नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको सो नगरपालिकाले स्वस्थ शहरका लागि गत साता सात प्रतिबद्धता जनाएको छ । सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच स्वस्थ शहर बनाउन यस्तो प्रतिबद्धता जनाइएको हो ।

सातबुँदे प्रतिबद्धतामा सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ ।

‘आरोग्यताका लागि स्वस्थ सहर अभियान सफल पार्न सातबुँदे प्रतिबद्धतासमेत जनाइएको छ’, ब्याञ्जुले भने । उनका अनुसार नगरक्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । नगरले स्वस्थ सहर अभियानमा सर्वदलीय अपनत्व बढाउनेसमेत जनाएको छ ।
साथै नगरले खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा यहाँका बासिन्दा सबैका घरमा प्रयोग गरिने फोहर पानी प्रशोधन गरी पुनःप्रयोग गर्ने योजना बनाएर काम भइरहेको जनाएको छ ।

नगरपालिका हाल सवै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलोसम्म पु¥याउने काममा जुटिरहेको छ । नागरिकको अवस्था के छ, केकस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना बनाइएको छ ।

धुलिखेलका स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरीका औषधि पर्याप्त बनाइने अभियानमा चलाइएको छ । नगर प्रमुख ब्याञ्जुले भने, ‘सबै नागरिकलाई आरोग्यता प्रदान गर्न नगरभित्रका स्वास्थ्य केन्द्रलाई चुस्तदुरुस्त बनाउँदै उनीहरुको अवस्था बुझ्न सर्वेक्षण गर्ने नगरको योजना छ ।’

यसअघि नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएका अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नगरद्वारा भविष्यमा समेत जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनको पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।

साथै ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न नगर वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजना बनाएको छ । नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाँै नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो ।
सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरका रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्