Logo
Logo

सात महिनादेखि स्वास्थ्यकर्मीविहीन चुरेको स्वास्थ्य चौकी



कैलाली । कैलालीको दुर्गम पहाडी चुरे गाउँपालिका–१ किम्तोलास्थित निगाली स्वास्थ्य चौकीमा शुक्रबार कार्यालय सहयोगी लक्ष्मी बम र गंगादेवी बम घाम तापेर बसिरहेका थिए ।

सात महिनादेखि स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएको छ । स्वास्थ्य चौकीका प्रायः सबै कुर्सी खाली देखिन्थे । ओपिडी सेवा समेत बन्द छ । स्वाथ्इकर्मी नहुँदा बिरामी घाम तापेर फर्किने गरेको कर्मचारीहरु बताउँ छन् ।

निगाली स्वास्थ्य चौकीमा हाल ६ जनाको दरबन्दी रहेको छ । तर, एक जना पनि स्वास्थ्यकर्मी छैनन् । औषधि ल्याउन ७ महिनाअघि गाउँपालिका कार्यालय गएका स्वास्थ्य चौकी इन्चार्ज बिक्रम बोहरा अझै फर्किएका छैनन् । उनी गाउँपालिका कार्यालयमै कार्यरत छन् ।
सुत्केरी बिदामा बसेकी स्वास्थ्यकर्मी भूमा घिमिरे पनि अझै फर्किएकी छैनन् । सागर कार्की र लालीचन्द थारुले सरुवा लिइसकेका छन् । ‘हाकिम साहेब फर्केर आएनन्, सेवाग्राही आउँछन्, हेर्छन्, फर्किन्छन्’ कार्यालय सहयोगी गंगादेवी बमले भनिन्, ‘हामी कार्यालय कुरेर बस्छौँ । जानेको औषधि दिन्छौँ । जटिल किसिमका बिरामी आएमा निजी क्लिनिकतिर जान भन्ने गरेका छौँ ।’

गाउँपालिका कार्यालयमै बसिरहेका विक्रम अहिले पनि स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारीमा छन् । ‘गाउँपालिकामा कर्मचारी अभाव भएर मेरो आवश्यकता परेकाले म यहीँबाट काम गर्दैछु । स्वास्थ्य चौकी प्रमुख म नै हुँ । करारमा राखेका कार्यालय सहयोगी र ल्याब असिस्टेन्ट त्यहाँ कार्यरत छन्’, बोहराले भने, ‘गाउँपालिकामा पनि कर्मचारी अभाव छन् । जता खटायो त्यतै खट्नै प¥यो ।’

‘निगाली स्वास्थ्य चौकीका लागि करारमा कर्मचारी राख्ने तयारी भइरहेको छ । विक्रम गाउँपालिका कार्यालयमै खटेका छन् । हामी स्वास्थ्य चौकीका लागि करारमा कर्मचारी राख्दै छौँ’ गाउँपालिका अध्यक्ष धनबहादुर रोका मगरले भने, ‘बिहीबार अन्तरवार्ता हुँदैछ । दुई जना अहेव र दुई जना अनमी एक साताभित्र कर्मचारी स्वास्थ्य चौकीमा खटिन्छन् ।’

यसअघि स्वास्थ्य चौकीमा कार्यरत कसैले सरुवा लिए, कोही बिदाबाट फर्किएनन् । गाउँपालिकामा पनि कर्मचारी आवश्यक भएकाले विक्रम यही कार्यरत रहेको गाउँपालिका अध्यक्ष रोका मगरले बताए । उनले भने, ‘विक्रम गाउँपालिका कार्यालयमा भएपनि स्वास्थ्य चौकी प्रमुखको भूमिकामा हुनुहुन्छ, उहाँभन्दा माथिल्लो पोष्टका कोही आएमा स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी पाउँछ, नभए उचित समयमा हामी विक्रमलाई नै स्वास्थ्य चौकीमा खटाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्