Logo
Logo

विद्यालयमा ६ वटा शौचालय, शौच गर्न विद्यार्थी झाडीतिर जान बाध्य



अछाम । अछामको मंगलसेन नगरपालिका–९ मा खानेपानीको हाहाकार भएको छ । खानेपानीको हाहाकार हुँदा मंगला नेरा मावि ओलीगाउँमा अध्ययनरत विद्यार्थी शौच गर्न जंगल, झाडीतिर जाने गरेका गरेका छन् ।

नियमित विद्यालयमा आउने विद्यार्थीले खानेपानीको उचित व्यवस्था नहुँदा शौचालय प्रयोग गर्न समस्या भइरहेको उनीहरुको भनाइ छ ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षासम्बन्धी भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी किशोरीले महिनावारी हुँदा विद्यालयबाट प्रदान हुने सेनेटरी प्याडले नियमित विद्यालयमा आउने वातावरण बनेपनि शौचालय र पानीको व्यावस्था नहुँदा समस्या हुने गरेको बताए ।

‘विद्यालयमा चार वटा धारा र ६ वटा शौचालय छन्, तर न धारामा पानी आउँछ न शौचालय प्रयोगमा छन्,’ कक्षा ११ मा अध्ययनरत सिर्जना रावलले भनिन्, । महिनावारी भएका बेलामात्रै होइन, विद्यालयमा नियमित शौच गर्न पनि समस्या रहेको कक्षा १० मा अध्ययनरत माया भण्डारीले बताइन । ‘विद्यालयमा शौच गर्ने शौचालय छैन, विद्यालय पछाडिपट्टिको झाडीमा जानुपर्छ, खुल्ला शौच गर्दा धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।
शौचालय र पानीको अभावले सबैभन्दा धेरै समस्या महिनावारी भएका बेला हुने गरेको विद्यालयका छात्राहरुले बताएका छन ।

विद्यालयमा स्कुल नर्सिङ कार्यक्रम लागू भएदेखि छात्रालाई सहज भएको छ । महिनावरी भएको समयमा पेट दुख्ने, बढी रगत बग्ने, ढाड दुख्ने समस्या भएमा विद्यालयमै औषधिको व्यवस्था र रेस्ट गर्न मिल्ने रुमको व्यवस्था रहेकाले आफूहरूलाई सहज भएको उनीहरू बताउँछन ।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर भण्डारीले विद्यालयका समस्या व्यस्थापन समितिको बैठकमा उठाउँदै आएको बताए । उनले भने, ‘विद्यालयको पदेन सदस्य वडा अध्यक्ष रहने व्यवस्था छ । हरेक बैठकमा वडा अध्यक्ष आउनुहुन्छ, तर, यो विषयमा कुनै चाँसो देखाउनु भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्