Logo
Logo

नक्कली नागरिकता बनाउन खाज्ने वडाध्यक्षसहित कर्मचारी पक्राउ



धनगढी । बझाङमा नक्कली नागरिकता बनाउन खाज्ने एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष गगन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली नागरिकता बनाउनका लागि कागजात बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । उनीसहित अरु पाँच जना कर्मचारीलाई पनि पक्राउ गरिएको उनले बताए ।

प्रमुख प्रहरी नायब उपरीक्षक विष्टकाअनुसार वडा नम्बर १ कै सतिशबहादुर सिंहको नक्कली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित सो कार्यालयका वडा सचिव करण बिक र लेखापाल अजयबहादुर सिंहलाई पनि पक्राउ गरिएको हो ।

यस्तै, सोही वडामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ऐनबहादुर सिंहलाई पनि नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सिंहलाई सतिशको कक्षा ८ को नक्कली मार्कसिट र सर्टिफिकेट बनाइदिएको भन्दै पक्राउ गरिएको बताइएको छ ।

२०६८ सालमा एसएलसी दिएर फेल भएका सतिशको नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाइदिने आश्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्नमा आएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक उनले नागरिकता लिएका थिए । अहिले उनैको नाम परिवर्तन गरेर वडाबाट सिफारिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्