Logo
Logo

महालक्ष्मी विकास बैंकका अध्यक्षद्वारा आफन्तको नाममा सेयर खरिद, राष्ट्र बैंक मौन ?




काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सानातिना उजुरीमा सुनुवाइ गर्ने तर अरबौंको कालोधन चलखेल गर्नेहरुलाई उन्मुक्ति दिने गरेको छ । त्यस्तो कालोधन लगानी गर्नेहरुबाट विभागका अधिकारीहरुले लाभ लिने र उजुरी तामेलीमा हाल्ने गरेको गुनासोलाई महालक्ष्मी विकास बैंकमा भएको अपारदर्शी लगानीमा चासो नदिएपछि पुष्टी भएको छ । महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले ‘चोरबाटो’ बाट बैंकमा आफ्नो सेयर हिस्सा बढाएका छन् ।

तर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग मात्र होइन, राष्ट्रबैंकले समेत मौनता साँधेको छ । कुनै पनि बैंक वित्तीय संस्थाको अध्यक्ष तथा तोकिएका पदमा बहाल रहेको अवस्थामा आफु वा तोकिएका व्यक्तिहरुको नाममा सम्बन्धित संस्थाको सेयर खरिद गर्न नपाइने कानुनी व्यवस्था भएकाले अध्यक्ष उपाध्यायले चोरबाटो अपनाउँदै आफन्तहरुको नाममा सेयर किनेर बैंकमा आफ्नो हिस्सा बढाएका छन् ।


उनले बिभिन्न समयमा आफन्तहरुको नाममा सेयर खरिद गरेर झन्डै १६ लाख कित्ता पुर्याएका छन् । महालक्ष्मी विकास बैंकको अध्यक्ष बन्नु अगाडि उपाध्यायको नाममा ६० हजार कित्ता रहेकोमा अहिले उनीसँग झन्डै १६ लाख कित्ता सेयर रहेको छ । महालक्ष्मी विकास बैंकसँग यति बैंक गाभिएको थियो । यी दुई बैंक गाभिनुअघि उनी यति डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । उपाध्यायले नातामा सासु पर्ने सीता शर्मा, भाइ पर्ने दीपेन्द्र शर्मा र बबी शर्मा, बहिनी पर्ने रेखा उपाध्याय, बैंकमा आफ्नो गुटका बिश्वासपात्र कर्मचारी, व्यवसायिक साझेदार सुनिलबल्लव पन्त लगायतको आफन्त र निकटस्थहरुको नाममा बिभिन्न समयमा संस्थापक सेयर खरिद गरेको खुलासा भएको छ ।


उपाध्यायले बिभिन्न मितिमा महालक्ष्मी विकास बैंकको झन्डै ११ लाख कित्ता सेयर आफन्तहरुको नाममा खरिद गरेका छन् । त्यतिमात्र होइन, उनले बैंकभित्रैका आफूनिकटका अन्य कर्मचारी तथा उनका आफन्तको नाममा समेत सेयर खरिद गरेका छन् । उनले व्यवसायिक साझेदार सुनिलबल्लभ पन्तको नाममा २०७२ साल भदौ १५ गते डेढ लाख कित्ता संस्थापक सेयर किनेका छन । यो सेयर भवानी थापाको नामबाट सुनिलबल्लभ पन्तको नाममा खरिद गरिएको हो । त्यस्तै उपाध्यायले २०७२ साल कात्तिक १३ गते पन्तको नाममा थप २५ हजार कित्ता संस्थापक सेयर खरिद गरेका छन् । प्रकाश आचार्यको नाममा रहेको संस्थापक सेयर पन्तको नामबाट खरिद गरिएको हो ।


नेपाल राष्ट्र बैंकको कानुनी व्यवस्था अनुसार कुनै पनि संचालकले आफू पदमा रहँदा एकाघर सदस्यको नाममा सोही संस्थाको सेयर खरिद गर्न नपाउने व्यवस्था रहेको छ। बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेको बैंक वित्तीय संस्था सम्बन्धित ऐन २०७३,‘बाफिया’ को दफा १२ मा यसबारे उल्लेख छ । एकाघर सदस्यको नाममा सेयरखरिद गर्दा कानुन आकर्षित हुने डरले उपाध्यायले आफ्नो ससुरालीतर्फ तथा अन्य निकट आफन्तको नाममा सेयर खरिद गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्