Logo
Logo

एमालेमा दिनैपिच्छे विद्रोह, जिल्ला अधिवेशनको संघारमा ठूलो क्षति व्यहोर्दै



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को १०औँ महाधिवेशन सम्पन्न भएको एक महिना बित्यो । तर, नेकपा (एमाले) महाधिवेशनको धङ्धङीबाट अझै मुक्त हुन सकेको छैन । बरु, दिनैपिच्छे देशभरबाट विद्रोह गर्ने नेता–कार्यकर्ताको संख्या बढ्दा एमालेभित्र तरंग पैदा भएको छ । यही क्रम जारी रह्यो भने आगामी वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनसम्म एमालेमा ठूलै पहिरो जाने निश्चित छ ।

एमालेभित्रको अवस्था हेर्दा न विधान महाधिवेशनले तय गरेको विधि काम लाग्यो, न चितवन महाधिवेशनले तय गरेको नेतृत्व नै सर्वस्वीकार्य रह्यो । सिंगो पार्टी यतिबेला केपी शर्मा ओलीका निम्ति ‘भ्यागुताको धार्नी’ बनेको छ । ‘ओलीवेशन’का रुपमा चर्चामा आएको उक्त महाधिवेशनअघि धैर्यतापूर्वक भूमिकाको प्रतीक्षामा रहेका कतिपय नेता नेतृत्वबाट कत्लेआम भएपछि पार्टी छोड्न बाध्य भएका छन् । कतिपय ओली कोटरीकै नेता–कार्यकर्ता असन्तुष्ट हुँदा सर्वसम्मत अध्यक्ष बनेका ओली कमजोर बनेका छन् ।

महाधिवेशनबाट ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाइदिए पनि ईश्वरलाई जिम्मेवारविहीन बनाउने क्रम जारी छ । उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलको जिम्मेवारी महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकले खोसिदिएको छ ।

पोखरेलको ठाउँमा महासचिव शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य इञ्चार्ज र कृष्णगोपाल श्रेष्ठकी पत्नी बिना श्रेष्ठ सह–इञ्चार्ज तोकिएका छन् । पोखरेलको जिम्मेवारी खोसिएपछि शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम भयो । उक्त कार्यक्रमबाट ईश्वरलाई इञ्चार्जका रुपमा बिदा गर्ने र सुजिता शाक्यलाई स्वागत गर्ने कार्यक्रम थियो । तर, उक्त कार्यक्रममा ईश्वर पुगेनन् । ईश्वरले मात्रै हैन, प्रेमप्रसाद पराजुली, समीर नेपालदेखि चन्द्र रिजालसम्मले उक्त कार्यक्रम वहिष्कार गरे । कारण हो, ‘न्यायोचित जिम्मेवारी’ नदिइनु ।

उपत्यका विशेष प्रदेशले पेशागत फाँटसहित मजदुर, विद्यार्थी र उद्योग व्यवसायी जिल्ला कमिटीहरु हेर्ने हो । ०७७ पुस ५ अघि पेशागत जिल्ला कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुली, उपाध्यक्ष भोला पोखरेल, सचिव समीर नेपाल र उपसचिव प्रेमकुमार पराजुली थिए । यसमध्ये भोला पोखरेल माधव नेपालतिर लागे । प्रेमप्रसाद र समीर ओलीको १५ सय १ सदस्यीय केन्द्रीय कमिटी सदस्य भए । बाँकी रहेका उपसचिव प्रेम पराजुली पेशागत जिल्ला कमिटीको अध्यक्ष बनाइए ।

सर्वोच्च अदालतले नेकपा भंग हुँदा ओलीद्वारा विस्तारित १५ सय १ सदस्यीय केन्द्रीय कमिटी अवैध भयो । ती केन्द्रीय सदस्यलाई विभिन्न जिम्मेवारीमार्फत व्यवस्थापन गरियो । त्यसक्रममा प्रेम पराजुली र समीर नेपाललाई उपत्यका विशेष प्रदेशको क्रमशः अध्यक्ष र सचिव बनाइयो । यी दुबैले दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने घोषणा गरेका थिए । तर, ओलीले सुनाएको प्यानलमा उनीहरु परेनन् । उम्मेदवार बन्दा हार्ने खतरा भयो, उठेनन् । उनीहरुलाई प्रदेशको जिम्मेवारीमै रहन भनिएको थियो । तर, प्रदेशको अध्यक्ष नै एमाले हुँदा आफ्नै नेतृत्वको जिल्ला कमिटीका उपसचिवलाई बनाएपछि न प्रेम पराजुलीको चित्त बुझ्यो, न समीर नेपालकै ।

धादिङका पर्यटन व्यवसायी चन्द्र रिजाल ०७५ जेठ २ को अवस्थामा एमालेको पेशागत जिल्ला कमिटी सदस्यमात्र थिए । पछिल्लो समय पेशागत जिल्ला कमिटीबाट टुक्र्याएर बनाइएको उद्योग व्यवसाय जिल्ला कमिटीको अध्यक्ष बने । उनले दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा आफूलाई प्रचार गरेका थिए । तर, त्यो अवसरबाट उनी पनि बञ्चित भए । महाधिवेशनपछि पार्टीले उपत्यका विशेष प्रदेशमा उनलाई उपसचिवको जिम्मेवारी दियो । उनले त्यस्तो जिम्मेवारी स्वीकारेका छैनन् ।

यी असन्तुष्ट तीन भाइका कथा बेग्लै छन् । प्रेम पराजुली कर्मचारी फाँटबाट पार्टी नेतृत्वमा अगाडि बढेका व्यक्ति हुन् । उनकी पत्नी कमला पराजुली अहिले महिला आयोगकी अध्यक्ष छिन् । समीर नेपाल नेकपा (एकीकृत समाजवादी)को चौंथो वरियताका नेता प्रदीप नेपालका भाइ हुन् । चन्द्र रिजालले एमालेका त्यागी नेता त्रिलोचन ढकालकी छोरीसँग विवाह गरेका छन् ।

पार्टी विभाजनअघि माधव नेपाल पक्षको उर्वर भूमिका रुपमा लिने गरिएको सिन्धुपाल्चोकबाट त्यहाँका मुख्य मुख्य नेताहरु पार्टी विभाजनमा सरिक भएनन् र माधव नेपाल पक्ष कमजोर बन्यो । अरुण नेपाल, शेरबहादुर तामाङ, सुभाष कर्मचार्यदेखि माधव नेपालका थुप्रै विश्वासिला नेता एमालेमै रहे । तर, अहिले ओलीको दम्भका कारण एकीकृत समाजवादी दिनप्रतिदिन बलियो बन्दैछ । एमाले कार्यालय सचिव पद खोसुवामा परेपछि शेरबहादुर तामाङ यतिबेला पछुतो मानिरहेका छन् ।

सुवास कर्माचार्यले पार्टीबाट अलग भएको घोषणा गरिसके । कर्माचार्यको वहिर्गमनले एमाले सिन्धुपाल्चोकमा ठूलै पहिरो जाँदैछ । अब एमालेको २३ गते हुने जिल्ला अधिवेशनपछि त्यहाँबाट सीता थापासहितको ठूलो युवा पंक्ति एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरिरहेको एमाले सूत्रले दृष्टिलाई बताएको छ ।

पाल्पामा पूर्वसांसद यादवबहादुर रायमाझीले एमालेबाट विद्रोह गरेपछि एकीकृत समाजवादीको खस्किँदो स्थितिमा रहेको पश्चिम पाल्पामा सुधार भएको छ । तानसेन नगरपालिका, रैनादेवी गाउँपालिकासहितका क्षेत्रमा एमाले कमजोर बनेको छ । रायमाझी एकीकृत समाजवादीमा प्रवेश गरेकै दिन त्यहाँबाट ६७ जना नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । त्यसैगरी तानसेन नगर कमिटीबाट पनि धेरैले एमाले त्याग गर्दैछन् ।

एमाले सुनसरीका पूर्वइञ्चार्ज तथा पूर्वकेन्द्रीय सदस्य धर्मराज निरौलाले आइतबार औपचारिक रुपमा एमाले परित्याग गरेका छन् । उनी १० बुँदे पक्षधरका रुपमा एमालेमै थिए । तर, ओलीले १० बुँदेको धज्जी उडाउँदै एकता पक्षधरलाई दास बनाउन खोजेपछि निरौलाले पार्टी परित्याग गरेका हुन् ।

उनीसँगै जिल्ला कमिटीका ३० सहित जिल्लाभरका तीन सय नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । निरौलाको प्रवेशले सुनसरीको पश्चिमी भेगको पार्टी काममा एकीकृत समाजवादीलाई निक्कै बल पुगेको बताइन्छ । स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै इटहरीका वहुचर्चित मेयर द्वारिकलाल चौधरी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । उनीसहित गणेश गुरागाइँ, नन्दु बस्नेत, राम कोइरालाहरु एमाले छोड्ने मनस्थितिमा पुगेका छन् ।

सुदूरपश्चिम एमालेका निम्ति सबभन्दा अप्ठेरो प्रदेश हुने भएको छ । त्यसै पनि प्रदेशसभाको ठूलो दलका रुपमा नेकपा एकीकृत समाजवादी छ नै । त्यसमाथि पछिल्लो समय एमालेप्रतिको आकर्षण घट्न थाल्दा कतिपय जिल्ला एमालेमुक्त हुने अवस्थामा पुगेको छ । डडेल्धुराका नेता डा.ताराप्रसाद जोशी एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमालेको जिल्ला कमिटी करिव करिव रित्तो भएको छ ।

जिल्ला अधिवेशन गर्नका निम्ति प्रतिनिधि छान्न नसकेर अधिवेशन सार्ने तयारी भइरहेको छ । डा.जोशीको गृहपालिका गन्यापधुरा एमालेमुक्त भइसकेको छ । केही दिनमै नवदुर्गा गाउँपालिकास्थित एमालेको गाउँ कमिटी नै एकीकृत समाजवादीमा समाहित हुँदैछ । त्यसका लागि शहरी विकास मन्त्री रामकुमारी झाँक्री डडेल्धुरा जाँदै छिन् ।

काठमाडौंमा पनि विद्रोहको तयारी
महाधिवेशनपछि एमालेले काठमाडौंमै क्षति व्यहोरिरहेको छ । उपत्यकाको नेवार समुदायका युवा नेता सुरेन्द्र मानन्धरलाई केन्द्रीय कमिटीमा नसमेटिएपछि कीर्तिपुर क्षेत्रमा असन्तुष्टि चुलिएको छ । विद्रोहको तयारीमा रहेका सुरेन्द्र मानन्धरसँगै उपत्यकाबाट ठूलो संख्यामा नेवार समुदायका युवा एकीकृत समाजवादीमा संगठित हुने भएका छन् ।

जिल्ला कमिटीमा नेतृत्व विवादका कारण काठमाडौंका एकथरि ओलीपक्षीय एमाले नेता विद्रोहको मनस्थितिमा छन् । ०७५ जेठ २ को स्थितिमा एमाले जिल्ला कमिटीका अध्यक्ष निर्मल कुइँकेल थिए । उनीविरुद्ध पशुपति क्षेत्र विकास कोषको भ्रष्टाचार मुद्दा लागेपछि उनले उपाध्यक्ष कृष्ण राईलाई कार्यवाहक दिएर मुद्दा लडुञ्जेलका लागि पार्टी कामबाट बिदा लिएका थिए ।

मुद्दामा उनले सफाई पाए । तर, कृष्ण राईले अध्यक्ष पद छाडेनन् । अहिले कृष्ण राई केन्द्रीय सदस्य भइसकेका छन् । फेरि पनि उनी अध्यक्ष पद छोड्न तयार छैनन् । यदि कृष्णले अध्यक्ष पद नछाडेमा निर्मल कुइँकेल पार्टीमा रहने सम्भावना कम छ । कुइँकेलको कामपास्थित ७, ८ र ९ नम्बर वडामा राम्रो वर्चस्व छ ।

एमालेले देशका विभिन्न जिल्लामा आयोजना गर्न लागेका जिल्ला अधिवेशन र जनसंगठनका राष्ट्रिय सम्मेलनहरुपछि योभन्दा ठूलो मात्रामा क्षति व्यहोर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्