Logo
Logo

विवादका बीच काठमाडौंमा कतार भिसा सेन्टर खुल्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
विवादका बीच कतार भिसा सेन्टरको बुधबारबाट सञ्चालनमा आएको छ । सो सेन्टर सञ्चालनबारे परराष्ट्र र श्रम मन्त्रालयबीच नै विवाद थियो । त्यस्तै मेनपावर व्यवसायीहरु समेत विभाजित भएका थिए । विवादका बीच काठमाडौंमा सेन्टर सञ्चालनमा आएको हो ।
लामो समयदेखि श्रम मन्त्रालयले सिन्डिकेट शैलीमा स्थापना भएको भनेर अनुमती दिएको थिएन । कतारले ८ मुलुकमा २० ओटा भिसा सेन्टर स्थापना गरेर एकद्धार प्रणाली लागू गरेको जनाएको छ । नेपालमा भिसा सेन्टर स्थापना नभए भविष्यमा घुमघाम र कामका लागि कतार जाने नेपालीलाई समस्या हुने चेतावनी कतारले दिँदै आएको थियो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारहरुसँग भिसा र स्वास्थ्य परिक्षणमा सिन्डीकेट भएको भन्दै एक बर्षदेखि मलेसियाको रोजगारी बन्द गराएर विभिन्न संस्थालाई कारवाही गरेका थिए । कतार भिसा सेन्टर पनि सिन्डिकेट शैलीमा आएको भन्दै सुरुदेखि नै सञ्चालनको अनुमती नदिएका मन्त्री विष्ट पछिल्लो पटक लचिलो भएपछि कतार भिसा सेन्टर सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टरलाई सञ्चालनमा अवरोध नगर्ने भनेपछि श्रम मन्त्रालय यसमा लचिलो भएको हो ।

कतार भिसा सेन्टरमा हुने कामदारको खर्च कामदारले तिर्नुनपर्ने भिसा सेन्टरले जनाएको छ । भिसा सेन्टरका सञ्चालक हेम गुरुङले कामदारलाई कुनै आर्थिक भार नपर्ने गरि काम हुने भएपछि सरकारले सञ्चालनको अनुमती दिएको बताए ।

कतार भिसा सेन्टर सञ्चालन आउन लागेपछि बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले राजिनामाको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्