
धनकुटा । नेकपा एमाले धनकुटाको सातौं जिल्ला अधिवेशनबाट इन्द्रमणि पराजुली अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी निरन राईले मैदान छोडेपछि पराजुली सर्वसम्मत निर्वाचित भएका हुन । पराजुली र राई दुवै धनकुटाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन ।
धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा सम्पन्न जिल्ला अधिवेशनले १ सय २४ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।
चिन्तन तामाङ उपाध्यक्ष, निरन राई सचिव, शिव आङ्ला र शुष्मा राई उपसचिवद्वयमा निर्वाचित भएका छन् । उपाध्यक्ष तामाङ धनकुटा नगरपालिकाका प्रमुखसमेत हुन । तामाङ र उपसचिव निर्वाचित आङ्लाले पनि अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका थिए ।
राईलाई सचिवमा बस्न दवाव दिइएको र चुनावलाई टार्न खोजेको भन्दै उनी समर्थित कार्यकर्ताले राती अधिवेशनस्थलमा होहल्ला गर्दै कुर्सीसमेत तोडफोड गरेका थिए । यस्तै माओवादीबाट एमाले गएका नेताहरुमा शुष्मा राई उपसचिब बनेका छन् । तर, पूर्वओवादीका अन्य नेता भने पदाधिकारी भएनन् ।
एमालेका महासचिव शंकर पोख्रेलले धनकुटा इञ्चार्ज राजेन्द्र राईलाई फोन गरेर पराजुलीलाई अध्यक्ष बनाउन दबाब दिएको बताइएको छ । कुनै समय एमालेमा बामदेब गौतमहुँदै माधव नेपालको लाइनमा रहेका राजेन्द्र राई नेकपा विभाजनपछि केपी ओलीको पक्षमा लागेका थिए । पराजुली भने राजनीतिमा लागेसँगै ओली पक्षमा खुलेका नेता हुन् । त्यसकारण पनि पराजुलीलाई अध्यक्ष बनाउन केन्द्रदेखि दबाब दिइएकाे बताइएकाे छ ।
पराजुली अध्यक्षसहित प्यानल घोषणा हुँदा तालि बजाउन पटकपटक गरिएको अनुरोध प्रतिनिधीले अस्वीकार गरेका थिए । उनीहरुले लोकतान्त्रिक पद्धतीबाट नेतृत्व चयन गर्नुपर्ने माग गर्दै नारावाजी गरेका हुन् ।
पूर्वमाओवादीको बिचल्ली
एमाले धनकुटा अधिवेशनबाट एक जना उपसचिब र २२ जना पूर्वमाओवादी नेता जिल्ला सदस्य निर्वाचित भएका छन ।
माओवादी केन्द्रमा रहँदा पदाधिकारी रहेका रामकुमारी राई, भीमादेवि खनाल, सन्दिप रायमाझी जिल्ला सदस्य मात्रै बनेका छन भने जिल्ला सचिवालय सदस्य रहेका नेत्र भण्डारी र होम थापा जिल्ला सदस्य बनेका छन ।
माओवादी रहँदा जिल्ला इन्चार्ज रहेका गणेश राई (उज्जल), नेताहरू सञ्जय राई, सन्देश क्षेत्री र बलदीप राई जिल्ला कमिटीमा अटाएनन् । उनीहरुलाई प्रदेश कमिटीमा मनाेनित गर्ने आश्वासन दिइएकाे छ ।
धनकुटाको अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सामान्य आलोचना गर्ने समेतलाई पदाधिकारी बन्न रोकिएको छ । ओलीले गरेका गलत कामको आलोचना गर्नेलाई छानिछानि पदाधिकारी हुन नदिइएको एक नेताले बताए । त्यसैगरी, पूर्वमाओवादी नेतालाई समेत पदाधिकारी बन्नबाट रोकिएको बताइएको छ ।














