Logo
Logo

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार भट्टको निधन



काठमाडौं । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट ‘भाइसाब’को निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको हो । केही वर्षदेखि दीर्घ रोगका कारण ग्रसित भएका भट्टको आइतबार राति भीमदत्त नगरपालिका–१८ कटानस्थित आफ्नै निवासमा निधन भएको हो। साहित्यक नाम भाइसाबले उनी परिचित थिए ।

भट्टको निधनले साहित्य र संस्कृति क्षेत्रमा अपुर्ण क्षति पुगेको महाकाली साहित्य संगमका पूर्वउपाध्यक्ष हेमबाबु लेखकले बताए । सुदूरपश्चिमको लोकसाहित्य र लोकसंस्कृतिका अध्येता भट्टको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मा २००० असार १५ गते भएको थियो ।

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा भट्टको महत्त्वपूर्ण योगदान रहेको छ। सुदूरपश्चिम विश्वविद्यालय स्थापनादेखि त्यस क्षेत्रमा शैक्षिक र साहित्य क्षेत्रको जगेर्ना गर्न भट्टको योगदान रहेको छ। महाकाली साहित्य संगमका संस्थापक अध्यक्षसमेत रहेका भट्टले लोक साहित्य र लोकसंस्कृतिको क्षेत्रमा कलम चलाउदै आएका थिए ।

उनका विभिन्न डेढ दर्जन बढी पुस्तक प्रकाशित छन्। सुदूरपश्चिम विश्वविद्यालय स्थापना समितिका अध्यक्षसमेत रहेका भट्ट सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष पनि हुन् ।

उनले सुदूरपश्चिमको भाषा, साहित्य, कला, संस्कृति, पुरातत्त्व र इतिहास जर्गेना गर्न पनि योगदान पुराएका थिए। उनको आजै हिन्दू संस्कार अनुसार महाकाली आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्