Logo
Logo

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध


252
Shares

हुम्ला । आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन् ।

सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन । सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए ।

हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन् । टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताए । बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहेका थिए । हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन । नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन ।

हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन् । हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका–१ का मनोज विकले बताए ।

हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्